आइतबार, माघ ६, २०८१
00:28 | ०६:१३

भारतमा सक्रिय संक्रमितको संख्या सात महिनायताकै कम 

रासस-एएनआई अक्टोबर ६, २०२१

नयाँ दिल्ली, २० असोज– भारतमा कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय संक्रमित छन् ।

सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाए । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ संक्रमितहरु थपिएका छन् ।

नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो ।

भारतमा पछिल्लो समयमा संक्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय संक्रमितहरुको सङ्ख्या लामो समयसम्म सबैभन्दा धेरै थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू