जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्व नेताहरुको बधाई
१९ असोज– जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताए ।
साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् ।
त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् ।
प्रधानमन्त्री देउवाद्वारा बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जापानका नवनियुक्त प्रधानमन्त्री किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।
उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेका छन् । उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यस क्रममा उनले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरेका थिए ।
उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका छन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचन घोषणा गरेका हुन् ।
निर्वाचन गराउने प्रयोजनकै लागि उनले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गरि निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नेछन् ।