आइतबार, माघ ६, २०८१
23:51 | ०५:३६

जापानको प्रधानमन्त्री बन्दै फुमिओ

रासस/सिन्ह्वा सेप्टेम्बर २९, २०२१

नयाँ अध्यक्ष फुमिओ किशिडा । तस्बिर सिन्हवा

टोकियो १३ असोज– जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।

जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।

नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री हुने सम्भावना छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन् ।

उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैं पछि हट्ने निणर्य गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै बाहिरिन लागेका छन् ।

नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्ष उमेरका छन् । उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहंदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।

जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू