शनिबार, माघ ५, २०८१
13:08 | १८:५३

बडादसैँको साइत सार्वजनिक, अक्टुबर १५ मा टीका

रासस सेप्टेम्बर २४, २०२१

काठमाडौँ–नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २१ गते अर्थात अक्टुबर ७ तारिख बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने अधिकारीले जानकारी दिए ।

असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्री पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बली दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे छ । तुलजा भवानीलाई बिहान 
८:४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार (अक्टुबर १५ तारिख) विजयादशमी पर्व परेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

तुलजा भवानीलाई बिहान ८:३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू