बिहीबार, माघ ३, २०८१
08:03 | १३:४८

घटस्थापनाका दिन शिवमन्दिर अल्डरसटको प्राणप्रतिष्ठा तथा उद्घाटन

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२१

लन्डन । हिन्दू नेपालीहरुको महान पर्व बडा दशैंको घटस्थापनाका दिन शिवमन्दिर अल्डरसटको प्राणप्रतिष्ठा तथा उद्घाटन गरिने भएको छ ।

आराध्यदेव पशुपतिनाथ भगवान काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिंगसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राणप्रतिष्ठापन तथा मन्दिर उद्घाटन आगामी अक्टोवर ७ देखि ९ सम्म गर्ने तयारी भएको हो ।

शिव मन्दिर अल्डरसटका कार्यबाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पति रेग्मीको अध्यक्षतामा बोर्ड अफ ट्रष्टिज र कार्यसमिति बैठकले कार्यक्रम तय गरेको हो ।

लामो समयदेखि मन्दिर उद्घाटन तयारी गरिएपनि विभिन्न कारणले ढिलाइ भएको थियो ।

युरोपकै पहिलो नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिर उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैदिकप्रकृयाबाट गरिनेछ । बेलायतवासी पण्डित चिरञ्जिवी ढकाललगायत अन्य गुरुहरूको सहभागितामा लगातार तीन दिनसम्म कार्यक्रम हुनेछ ।

मन्दिरमा राखिएको पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध व्यवसायी एवं समाजसेवी रविजंग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन् ।

दैनिक पूजा आराधनाका साथै भजन किर्तन एवं 
नौमति बाजागाजासहित धुमधामसंग गरिने उक्त कार्यक्रमका लागि संरक्षक एवं पूर्व अध्यक्ष रोहित कुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रष्टी सुष्मा गुरुङ, ट्रष्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलर तथा ट्रष्टी जीव बेलबासे लगायतको संयोजक समिति तोकिएको महासचिव विक्रम भट्टराईले बताए ।

कोभिड–१९ का कारण हुने असहज परिस्थिति तथा सरकारी नियम पालना साथै सनातन वैदिक परम्परा र मान्यतालाई मध्यनजर गर्दै कार्यक्रम छोटो र प्रभावकारी बनाइने आयोजकले बताएका छन् ।

शिवमन्दिर अल्डरसट परिवारले मन्दिरका निम्ति स्थापनाकालदेखि नै मन, वचन र कर्मले सहयोग, सद्भाव एवं सहकार्य गर्नेसम्पूर्ण सदस्यहरूलाई उक्त तीन दिवसीय प्राणप्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा उपस्थित भएर आराध्यदेव श्रीमहादेवको आशीर्वाद लिन आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू