पनडुब्बी विवाद चुलियो, बाइडेन र म्याक्रोँबीच छिट्टै वार्ता
पेरिस, ३ असोज– अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताएका छन् ।
यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो ।
अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बौं डलरको सम्झौता रद्द गर्ने निर्णय अस्ट्रेलियाले लिएको थियो । तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् ।
प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, “आगामी दिनमा फोनवार्ता हुनेछ ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए ।
म्याक्रोँले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्नेछन् । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ ।
“हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भने । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बताए ।
यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५