बिहीबार, माघ ३, २०८१
04:31 | १०:१६

अबको एनआरएनए युवाले सम्हाल्नुपर्छ: महासचिव डा. शर्मा

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले संघ अब युवाहरुले चलाउने समय आएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र गैरआवासीय संघका भावी कार्यक्रमबारे शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा डा. शर्माले संघका पुराना नेताहरू बढी राजनीतिक दलसँग आवद्ध भएका वा उनीहरुलाई गुहार्ने गरेकाले समस्या निम्तिएको बताए ।

पछिल्लो समय एनआरएनएमा राजनीतिक जालझेल बढेकाले पनि युवा तथा व्यावसायिक व्यक्तिहरुको उल्लेख्य संलग्नता नभएको शर्माको भनाइ छ । डा. शर्माले भने, ‘यो गैरआवासीय नेपाली संघको धेरै अघिदेखिको समस्या हो । महिला तथा युवाको र व्यावसायिक व्यक्तिहरुको सहभागिता न्यून छ । दोस्रो पुस्ता नेतृत्वमा आउन सकेको छैन । त्यसको मुख्य कारण चुनावी विकृति हो ।’ 

डा. शर्माले कार्यशैलीका आधारमा अब एनआरएनए रुपान्तरणको प्रक्रियामा रहेको र त्यसका लागि वर्तमान कार्यसमितिले पहले गरेको बताए । ‘उप्रेन्द्र महतो, शेष घलेलगायत संस्थापक नेताहरू अब संघमा सक्रिय हुनुहुन्न । त्यसैले अब अर्को पुस्ता रुपान्तरित हुनैपर्छ’- शर्माले भने-‘विगतमा काठमाडौंमा चुनाव गर्ने र राजनीतिक हस्तक्षेप निम्त्याउने काम भएकाले आगामी दिनमा त्यो रोकिनुपर्छ ।’

‘हामी नेतृत्व भ्रममा परयौं । जसरी पनि चुनाव जित्नैपर्छ भन्नेमा लाग्यौं,’ उनले भने, ‘अब त्यस्तो भ्रमबाट मुक्त हुनैपर्छ । सदस्यता बढाउँदा विकृति आयो भन्दै त्यसलाई चुनावसँग जोडेर हेरियो । आफ्नै घरबाट आफ्नै डिभाइसमार्फत् चुनाव गराएको भए सदस्यता बढ्थ्यो । चुनावपनि निष्पक्ष हुन्थ्यो ।’

‘डेलिगेट कसरी छान्ने गरिन्थ्यो, जगजाहेर नै छ । विगतमा त्यसलाई चेक गर्ने कुनै संयन्त्र नभएका कारण यसपालिदेखि पारदर्शी हुनुपर्छ भनेर लागेका हौं ’ उनले भने, ‘डेटाबेस छ । कसैले झुक्काएको खण्डमा र प्रक्रिया अनुसार चयन नभएको खण्डमा हामी रद्द गरिदिन्छौं र गरिरहेका छौं ।’

उनले प्रतिनिधिको सूचीमा कोही छुटेको भए बखेडा नबनाउन आग्रह गर्दै विधानअनुसार नाम समावेश गर्न सकिने जनाए ।

उनका अनुसार ४३ देशमा सर्बसम्मत प्रतिनिधि चयन गरिएको छ र अन्य देशमा पनि विवाद छैन् । ‘४ वटा देशमा भने हामीले गर्न खोजेको र चाहेको भन्दा फरक चुनाव भएकाले विवाद भयो,’ डा. शर्माले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू