नर्दन आयरल्यान्डका महिलालाई तीजमा सारी र जुत्ता उपहार
लन्डन । हिन्दू नारीहरुको विशेष पर्व हरितालिका तीज देश-विदेशका नेपाली महिलाहरुले बिहीबार आ-आफ्नै हिसाबले मनाएका छन् ।
नर्दन आयरल्यान्डमा बस्दै आएका नेपाली महिलाहरुको तीज भने यसपटक थप फरक बनेको छ ।
नेप्लिज कम्युनिटी नर्दन आयरल्यान्डको पहलमा स्थानीय महिलाहरुलाई उपहारस्वरूप सारी वितरण गरिएको छ ।
अध्यक्ष बल थापाका अनुसार कम्युनिटीले हरेक घरमा एक सारीको दरले उपहार वितरण गरेको हो । नर्दन आयरल्यान्डस्थित नेपालीका ६५ घरलाई एक-एकका दरले सारी बांडिएको हो ।
तीजका अवसरमा बिहीबार आयोजित कार्यक्रममा कम्युनिटीका लागि सक्रियतापूर्वक खट्नेहरुलाई उपहारको रुपमा जुत्ता र पानी पनि बांडिएको छ । जुत्ता र पानी समेत हरेक घरलाई बांडिएको अध्यक्ष थापाले बताए ।
उपहार वितरणको संयोजन कम्युनिटीकी उपाध्यक्ष शान्ति कंडेलले गरेकी थिइन् भने उपहारहरुको व्यवस्था ‘नेश्नल लट्री’मार्फत् सन्तोष गैरेले गराएका थिए ।
अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल प्रमुख अतिथि एवम् कम्युनिटीका पूर्व अध्यक्ष लिलाराम निउरे अतिथि थिए ।
उपहार वितरण कम्युनिटीका अध्यक्ष बल थापा, उपाध्यक्ष शान्ति कंडेल, कोषाध्यक्ष गोमा खड्काले गरेका थिए । कार्यक्रम संचालन सचिव पूर्णेश्वर कंडेलले गरेका थिए ।
कार्यक्रममा नर्दन आयरल्यान्डवासी ५० बढी नेपाली महिलाहरु सहभागी बनेर तीजको नाचगान गरेका थिए ।