लण्डनमा गोरेबहादुर खपाङ्गीको पाँचौ स्मृति दिवस


लन्डन । मगर संघ बेलायतले गोरे बहादुर खपांगी मगरको सम्झना गर्दै आइतबार पाँचौं स्मृति दिवस मनाएको छ ।
लन्डनस्थित फेल्थाममा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष सुनिल राना, पूर्व अध्यक्ष कुल बहादुर थापा र वेस्ट लण्डन शाखाका अध्यक्ष टेक राना मगरले खपाङ्गी मगरको तस्विरमा खादा तथा पुष्पगुच्छा अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा खपांगीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको वास्तविक स्मृति दिवस भने भाद्र ११ गते पर्छ ।
सन् २००३ मा उदयपुरको थाक्लेमा जन्मिएका खपांगीको ७० वर्षको उमेरमा सन् २०७३ साल भदौ ११ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो ।
बाल्यकालदेखि नै पढाईमा अब्बल रहेका खपांगी अध्ययन तथा अध्यापन गराउँदै जनचेतनाको प्रतिक बने । समाजशास्त्रीले भन्दा पहिले समाज बुझेका नेताको रुपमा परिचित खपांगी कम्युनिस्ट राजनीतिको लामो यात्रालाई तिलान्जली दिदै पहिचानको राजनीतिमा होमिएका नेपाली राजनीतिक कालखण्डका उपेक्षा गर्न नसकिने व्यक्ति हुन् ।
आफ्नो व्यक्तिगत जीवनका सुबिधा परित्याग गरेर पिछडिएका र उत्पीडनमा परेका आदिवासी जनजातिसहित मानव समूदायको मुक्ति र अधिकारका लागि सधैं लडिरहने खपाङ्गी एक महान नेता थिए ।
सोहि दिन मगर संघ यूकेको त्रैमासिक बैठक पनि भएकाले प्रत्येक्ष तथा जुमको माध्यमबाट विभिन्न ठाउँबाट विशिष्ट व्यक्ति, कार्यसमिति पदाधिकारी, सदस्यहरु, संरक्षक, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, ट्रस्टीहरु, शाखाका अध्यक्षहरु, महिला तथा युवाको सहभागिता थियो ।
नेपालबाट गोरे बहादुर खपाङ्गी फाउन्डेसनका सस्थापक अध्यक्ष हुम बहादुर थापाले खपाङ्गीको जिवनी प्रस्तुत गरेका थिए ।
संघका महासचिव रुद्र थापाले कार्यक्रम सन्चालन गरेका थिए । अन्त्यमा संघका अध्यक्ष सुनिल रानाले सम्पूर्ण सहभागीलाई धन्यवाद दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५