क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेमा क्या. पिताम्बरको नेतृत्वमा नयाँ कार्यसमिति
लन्डन । क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेमा नयाँ नेतृत्व चुनिएको छ । आइतबार अल्डरसटको एम्पायर हलमा सम्पन्न संस्थाको अधिवेशनले क्याप्टेन पिताम्बर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
निवर्तमान समितिमा उपाध्यक्ष रहेका गुरुङको अध्यक्षतामा संस्थाको सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो ।
नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीमा कुमार गुरुङ उपाध्यक्ष, ईन्द्र घोताने महासचिव, ताउ गुरुङ सचिव, जगदिश गुरुङ कोषाध्यक्ष र हेम गुरुङ सह-कोषाध्यक्ष छन् ।
त्यस्तै, संस्थाको चेलीबेटी प्रमुखमा चन्द्रादेवी गुरुङ, उपप्रमुखमा पन्च गुरुङ र महासचिवमा मीना गुरुङ लगायत पदाधिकारी चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी तीन वर्षका लागि रहनेछ ।
निर्वाचन समितिका संयोजक एवम् संस्थाका वरिष्ठ सल्लाहकार हरिगोविन्द गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथ खुवाएका थिए । निर्वाचन समितिमा समाजकै प्रवक्ता रामकुमार गुरुङ सदस्यसचिव र संस्थापक उपाध्यक्ष नारदमनि गुरुङ सदस्य थिए ।
यसअघि निवर्तमान समितिका अध्यक्ष लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनमा विधान समिति संयोजक ज्ञाम गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव, महासचिव ईन्द्र घोतानेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बोहत गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सोही अवसरमा हालै एनआरएनए यूके अध्यक्षको कार्यकाल सफलतापूर्वक पूरा गरेकी समाजकी चेलीबेटी समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई सम्मान गरिएको थियो ।
एनआरएनए यूकेको पहिलो महिला अध्यक्षका रुपमा नयाँ इतिहास बनाएको भन्दै गुरुङको सफलतामा समाजका तर्फबाट गौरव व्यक्त गरिएको थियो ।
नयाँ समिति चयनसंगै आफ्नो कार्यकाल पूरा गरेका समाजका निवर्तमान अध्यक्ष लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
उनले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सिंगो कार्यसमिति, सल्लाहकारसहित सबैप्रति आभार प्रकट गरेका छन् ।
तस्विर सौजन्य- खबर यूके