अमेरिकामा बाढी र आंधीबाट ४४ को मृत्यु
न्यूयोर्क–अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्यूयोर्क र न्यूजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् ।
“म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भनिन् । बाढीका कारण आफ्नो रेष्टूरेन्ट पनि पुरै डुबानमा परेको र धेरै क्षति भएको समेत उनले जानकारी दिइन् ।
“म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी बर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उनले थपिन् । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फंसेका थिए ।
मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए । घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन् ।
उनले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न नसके यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगानी आवश्यक रहेकामा जोड दिए ।
अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी संकट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उनले जीवन वा मरणको सवालको रुपमा उल्लेख गरे ।
समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५