एनआरएनए यूके उपाध्यक्ष कार्की र कानूनमन्त्रीको भेट, नागरिकता ऐन चांडै टुंग्याउने आश्वासन
लन्डन । एनआरएन यूके उपाध्यक्ष मोहन कार्कीले नेपाल सरकारका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर गैरआवासीय नेपालीको नागरिकता निरन्तरता सुनिश्चितताको पहल गरिदिन आग्रह गरेका छन् ।
एनआरएनए यूकेको नेपाली नागरिकता निरन्तरता विभागका संयोजक समेत रहेका उपाध्यक्ष कार्कीले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर मन्त्री कार्कीसँग छलफल गरेका हुन् ।
मन्त्री कार्कीसँगको छलफलमा आफूले नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा आवश्यक संशोधन गर्न तथा नेपाललाई यूकेको ‘रेड लिस्ट’ बाट हटाउन पहल गरिदिन आग्रह गरेको उपाध्यक्ष कार्कीले बताए ।
‘मैले गैरआवासीय नेपालीहरुका चासो, सरोकारका विविध विषयमा मन्त्रीज्यूसँग छलफल गरें ।यीनै विषयहरुमा उहाँलाई जानकारी गराउने र ध्यानाकर्षण गराउने पनि कोशिश् गरेको छु’, भेटपछि उनले नेपाली लिंकसँग भने ।
त्यसक्रममा मन्त्री कार्कीबाट सकारात्मक प्रतिक्रिया पाएको उपाध्यक्ष कार्कीले बताए । संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरु संशोधन गर्दै सक्दो चांडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता मन्त्री कार्कीले व्यक्त गरेको उनले जनाए ।
नेपाललाई बेलायतको रेड लिस्टबाट हटाउने सवालमा पनि परराष्ट्र मन्त्रालयमार्फत् आवश्यक पहलको आश्वासन मन्त्री कार्कीले दिएका छन् ।
रेड लिस्टका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पर्नुका साथै चाडपर्व, काजकिरिया, बिरामी भेट्घाट लगायतका अत्यावश्यक अवस्थामा पनि यात्रा गर्न कठिनाइ भइरहेकोप्रति उपाध्यक्ष कार्कीले उनको ध्यानाकर्षण गराएका थिए ।
आमाको निधनपछि काजकिरियाका लागि नेपाल पुगेका उपाध्यक्ष कार्की तेह्रौं दिनको संस्कार सकिएलगत्तै एनआरएनएन अभियानमा सक्रिय बनेका छन् ।
उनले आउंदो साता गृहमन्त्री बालकृष्ण खांडलाई समेत भेटेर एनआरएनए एजेन्डाहरुमा ध्यानाकर्षण गर्ने योजना बनाएका छन् ।