न्यूयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको मृत्यु
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बर्षा र बाढीका कारण मृत्यु हुने १९ महिनाका बालकसहित तीनजना नेपालीहरु रहेको पुष्टि भएको छ ।
न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा रहेको घरमा उनीहरु मृत अवस्थामा फेला परेका थिए ।
मृतकहरु २० बर्षकी मिङमा शेर्पा, ४९ बर्षका आङ गेलु लामा र १९ महिनाका बालक लोप्साङ लामा रहेको जनाइएको छ ।
उनीहरुको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो । उनीहरुले तेश्रो तल्लामा बस्ने एकजना महिलालाई बेलुका साढे ९ बजेतिर आत्तिएर फोन गरेका थिए । मिङमाले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तलामा आउन भनेकी थिइन् ।
उनीहरुले झ्यालबाट पानी पसेको बताएका थिए । पछि प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।
उनीहरु सोलुखुम्बु जुनबेसीका रहेको र झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका जनाइएको छ ।