सोमबार, पुष २९, २०८१
22:36 | ०४:२१

बेलायतका सुपरिचित प्राध्यापक डा. सुवेदीलाई अन्तरराष्ट्रिय नियुक्ति

नेपाली लिङ्क सेप्टेम्बर १, २०२१

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले कानूनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

प्रत्येक चार वर्षमा हुने उक्त संघको विश्व समेलनलाई कानूनी र प्रक्रियागत विषयमा सल्लाह दिन उनलाई नियुक्ति गरिएको हो ।

यस पटकको विश्व समेलन यसै महिना फ्रान्सको मार्से शहरमा हुन लागेको छ । संसारका अधिकांश देश र थुप्रै गैर सरकारी संस्थाहरु उक्त संघका सदस्य छन् । स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको सो संघको नेपाल सन् १९७४ देखि सदस्य छ । संसारको प्रकृति र प्राकृतिक सम्पदा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उक्त संघको नेपालमा पनि कार्यालय छ र संघले नेपालको प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको छ ।

प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाले कानूनी सल्लाहकारमा नियुक्ति गरेकामा आफू गौरवान्वित भएको प्रा सुवेदीले बताए । फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोनले उद्घाटन गर्ने उक्त अधिवेशनमा अन्य धेरै देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त अधिवेशनमा भाग लिन फ्रान्स प्रस्थान गर्न लागेको पनि सुवेदीले बताए।

सुवेदीले अन्तरराष्ट्रिय वातावरण, पर्यावरण कानून र प्राकृतिक सम्पदा संरक्षण सम्बन्धि थुप्रै कृति प्रकाशन गरेका छन्। अक्सफोर्ड विश्व विद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका सुवेदीले संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रतिनिधि भएर क्याम्बोडियामा ६ वर्ष र बेलायतको परराष्ट्र मन्त्रीको मानव अधिकार सल्लाहकार भएर पांच वर्ष काम गरिसकेका छन् ।

त्यसका साथै डाभोस फोरम भनेर चिनिने स्विटजरल्याण्डमा प्रधान कार्यालय भएको विश्व आर्थिक फोरममा पनि विशेषज्ञको रुपमा सुवेदीले काम गरेका छन् । उनी बेलायतकी महारानीबाट ‘ओबिइ’ र कुइन्स काउन्सेलको प्रतिष्ठित कानूनविदलाई दिइने उच्च उपाधिबाट समेत सम्मानित भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू