बिहीबार, माघ ३, २०८१
00:53 | ०६:३८

नेपाल ल क्याम्पसको पुस्तकालयमा प्रा सुवेदी कक्ष, पुस्तक र आर्थिक सहयोग हस्तान्तरण

नेपाली लिङ्क सेप्टेम्बर १, २०२१

लण्डन । बेलायतस्थित अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक डा सुर्यप्रसाद सुवेदीले आफैले अध्ययन गरेको नेपाल ल क्याम्पसको पुस्तकालयका लागि घोषणा गरेको सहयोग हस्तान्तरण भएको छ ।  

मंगलबार काठमाडौंस्थित क्याम्पसमा आयोजित एक समारोहमा डा सुवेदीका तर्फबाट १० लाख रुपैयाँ नगदका साथै अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धि बहुमूल्य पुस्तकहरु हस्तान्तरण गरिएको हो ।

सर्वोच्च अदालतका न्यायधिशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा प्रा सुवेदीका दाजु प्रा देवीप्रसाद सुवेदीले सहयोग चेक र पुस्तकहरु क्याम्पसलाई हस्तान्तरण गरे ।  

सहयोग ग्रहण गर्दै क्याम्पसका प्रमुख डा डिएन पराजुलीले प्रा सुवेदीको सहयोगका लागि आभार प्रकट गरे ।

क्याम्पसले पुस्तकालयमा ‘प्रा सुवेदी’ नामको छुट्टै कक्ष बनाएर उनले सहयोग गरेका पुस्तकहरु राखेको छ । जुन कक्षमा प्राध्यापक सुवेदीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित हुँदाको तस्विरका साथै उनलाई बेलायती महारानीबाट प्रदान गरिएको क्यूसी पदवीको प्रमाणपत्र पनि ‘डिस्प्ले’ गरिएको छ ।  

प्रा सुवेदीको सहयोग हस्तान्तरणका क्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायधिशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयाल, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, त्रिभुवन विश्वविद्यालय कानून संकायका डिन प्रा विजयसिंह सिजापति लगायतले मन्तव्य दिंदै अन्तराष्ट्रिय कानून र मानवअधिकारका साथै नेपालप्रति प्रा सुवेदीले पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।  

उनीहरुले प्राध्यापाक सुवेदीले प्रदान गरेका पुस्तकहरु नेपाल ल क्याम्पसका प्राध्यापक र विद्यार्थी दुवैको लागि उत्तिकै लाभदायक बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक सरोजकृष्ण घिमिरेले स्वागत मन्तव्य राखेका थिए । पुस्तकालयका प्रमुख विजय पोख्रेलले प्रा सुवेदी कक्ष सबैको लागि खुला रहेको जनाउंदै सबैले लाभ लिने आशा व्यक्त गरे ।  

सहयोग हस्तान्तरणका बेला प्रा सुवेदी भने लन्डनस्थित आफ्नै निवासबाट भर्चुअल माध्यमले सहभागी बनेका थिए ।  

बेलायतमा विगत तीस वर्षदेखि अन्तरराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफ्नो निजी पुस्तकालय ४ दशकअघि आफैले अध्ययन गरेको नेपाल ल क्याम्पसलाई प्रदान गरेका हुन् ।

बेलायतको हल विश्वविद्यालयवाट विशष्ट श्रेणीमा प्रथम भइ स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता प्राज्ञिक क्षेत्रका सर्वोच्च उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका एवम् प्राध्यापनका लागि किन्दै आएका ग्रन्थहरु उनले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिएका हुन् । यी सबै पुस्तक उनले आफ्नै खर्चमा नेपाल पठाएका हुन् ।

लिड्स, लण्डन र अक्सफोर्ड विश्वविद्यालय लगायत संसारका सातवटा प्रतिष्ठत विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने आशा उनले राखेका  छन् ।

उक्त क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका डा सुवेदीले १० लाख रुपिया आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।

आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धि बहुमूल्य पुस्तकहरु र दश लाख रुपैंया नगद त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दास्वरुप प्रदान गर्ने डा सुवेदीले जनाएका छन् ।

बेलायतको हल विश्वविद्यालयवाट विशष्ट श्रेणीमा प्रथम भइ स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता प्राज्ञिक क्षेत्रका सर्वोच्च उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका एवम् प्राध्यापनका लागि किन्दै आएका ग्रन्थहरु उनले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन् । यी सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउन लागेको समेत उनले बताए ।

लिड्स, लण्डन र अक्सफोर्ड विश्वविद्यालय लगायत संसारका सातवटा प्रतिष्ठत विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने उनले आशा गरेका छन् ।

उनले दिएको दश लाख रुपैंया नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरि त्यसको बार्षिक आयबाट प्रत्येक वर्ष क्याम्पसको पुस्तकालयमा नयाँ ग्रन्थहरु थप्दै जाने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू