बिहीबार, माघ ३, २०८१
00:55 | ०६:४०

आइसीसी महिला संयोजकमा बेलायतको दाबी, संगीता मैदानमा

नेपाली लिङ्क सेप्टेम्बर १, २०२१

लन्डन । एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा महिला संयोजक पदमा बेलायतबाट सशक्त दाबी हुने भएको छ ।  

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहंदै आएकी बेलायतवासी अभियन्ता संगीता मरहट्टाले उक्त पदमा उम्मेद्वारी दिने भएकी हुन् ।

यसअघि एनआरएनए आइसीसी र एनसीसी यूकेका महत्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निभाइसकेकी मरहट्टाले महिला संयोजक पदमा उम्मेद्वारी दिने निश्चय गरेको बताइन् ।  

‘मेरा सहकर्मी, अग्रज र शुभेच्छुक सबैसँगको सल्लाह र छलफलपछि महिला संयोजकमा उम्मेद्वारी दिने निर्णय लिएकी छु’, उनले भनिन्, ‘अहिलेसम्म मैले आर्जन गरेको अनुभव, सिकाइ र क्षमतालाई सदुपयोग गर्दै यो भूमिकालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

सन् २०१७-१९ मा आइसीसीको युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी मरहट्टा अहिले मानार्थ परिषद सदस्य छन् । त्यसअघि सन् २०१५-१७ मा उनले आइसीसी सदस्य तथा २०१३-१५ मा एनसीसी यूकेको सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । सन् २०११ मा एनआरएनए यूकेको कार्यसमिति प्रवेश गरेकी उनले महिला संयोजकको भूमिका पनि निभाएकी थिइन् ।

एनआरएनएका जुनसुकै जिम्मेवारीमा रहंदा पनि सक्रियतापूर्वक खटिन सक्ने पात्रको छवि मरहट्टाले बनाएकी छन् । एनआरएनए यूकेमा महिला संयोजक रहंदा उनले नारी दिवस मनाएर च्यारिटीमा सहयोग गर्ने कार्य शुरु गराएकी थिइन् । पछि युरोप महिला उपसंयोजकको भूमिकामा हुँदा पनि उनी युरोपका कयौं मुलुक पुगेर स्थानीय नेपाली महिलाहरुको सहभागिता र सशक्तिकरणका लागि निरन्तर खटिएकी थिइन् ।  

आइसीसी महिला संयोजक पदको उम्मेद्वारका रुपमा मरहट्टाले एनआरएनएमा महिलाहरुको सक्रिय सहभागितालाई प्रवर्द्धन् गर्ने प्रमुख एजेण्डा अघि सारेकी छन् । जसका लागि सबै मुलुकस्थित एनसीसीहरुमा महिला फोरमलाई मजबुत पार्ने गरी कार्यक्रमहरु ल्याउने उनको योजना छ ।  

त्यस्तै, विदेशस्थित व्यवसायी तथा प्रोफेशनल महिलाहरुको संजाल तयार गर्ने, सीप तथा तथा क्षमता विकास एवम् बिस्तार गर्ने, खाडी मुलुकका महिलाहरुको समस्या उजागर गर्ने, वैदेशिक रोजगार र महिला स्वास्थ्यका क्षेत्रमा समन्वय गर्ने र सशक्त आवाज उठाउने जस्ता एजेन्डा पनि उनका प्राथमिकतामा छन् ।  

विगत २१ वर्षदेखि बेलायत बस्दै आएकी मरहट्टा अहिले एक सफल व्यवसायीका रुपमा स्थापित छन् ।  

पत्रकारितामा लामो समय बिताएकी उनले बीबीसी नेपाली सेवा, सगरमाथा सामुदायिक रेडियो लगायतका प्रतिष्ठित मिडियाहरुमा काम गरेकी थिइन् ।  

नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छन् । त्यस्तै, उनले बेलायतको थमसन फाउन्डेसनको उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा समेत पूरा गरेकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू