काठमाडौँ– श्रीलंका सिधा उडान शुरु
काठमाडौँ–श्रीलंकन एयरलाइन्सले आजदेखि कोलम्बो –काठमाडौं सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलंकन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् । कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलंकन एयरको जहाज बिहान ११:१० बजे पुनः कोलम्बो उडेको छ । सातामा दुई दिन मंगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।
एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । श्रीलंकन एयरले यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।
भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन् । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ ।
हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अष्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५