बेलायतको बेन नेविस पहाडमा फहरायो नेपाली झण्डा
लण्डन । बेलायतको स्कटल्याण्डमा अवस्थित पहाड बेन नेविसको चुचुरोमा नेपाली झण्डा फहराएको छ ।
बेन नेविसको चुचुरोमा केहीबेर मौलिक नेपाली बाजाहरु सारंगी, मुरचूंगा, मादल र पंचेबाजा पनि घनकिएको थियो ।
१३४५ मिटर अग्लो उचाईमा रहेको सो पहाड पुरा गर्न करिब ४ माइलको कठिन उकालो हिड्नुपर्ने हुन्छ ।
बेलायती सेनामा काम गरेका तर पेन्सन तथा अन्य सुविधाबाट वञ्चित रहेका गोर्खा सैनिक र तिनका परिवारलाई सहयोग गर्ने उद्देश्यले यो आरोहण अभियान संचालन गरिएको हो ।
बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली तथा विदेशी गरी जम्मा २२ जनाले आरोहणमा भाग लिएका थिए ।
न्यूकासल निवासी बिनम घिमिरेले अभियानको संयोजन गरेका थिए । लिभरपुल नेपाली समाजलाई पनि उक्त अभियानमा सहयोग गर्न अनुरोध गरिए पछि समाजका अध्यक्ष देउमान इजम, सल्लाहकार डा. मनोहर बुढाथोकी, सदस्य शिवराज पन्त र खड्ग गुरुङले पनि आरोहण तथा आर्थिक सहयोग अभियानमा साथ दिएका थिए ।
संयोजक घिमिरेका अनुसार अभियानबाट ५०० पाउन्ड संकलन गर्ने लक्ष्य राखिएको भए पनि ८३६ पाउन्ड संकलन भइसकेको छ ।