अफगानिस्तानबाट यूके ल्याइएका नेपालीलाई आइतबार नेपाल पठाइंदै
लन्डन । अफ्गानिस्तानबाट बेलायत ल्याइएका नेपालीलाई आइतबार नेपाल फर्काइने भएको छ ।
बेलायतको स्वीन्डनस्थित जुरि इनमा राखिएका ५१ जनामध्ये अधिकांशलाई आइतबार नेपाल पठाउन लागिएको हो ।
बेलायत ल्याइएका नेपालीहरुको सहयोग गरिरहेका स्थानीय स्वीन्डन नेपाली समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङका अनुसार आइतबार साँझ १७:४० र १९:३५ मा हिथ्रो विमानस्थलबाट छुट्ने ब्रिटिश एयरवेजको दुई उडानबाट उनीहरु नेपाल जाँदैछन् ।
लन्डनबाट छुट्ने पहिलो उडान टर्कीसम्म र दोस्रो उडान दिल्लीसम्म पुग्नेछन् भने त्यहाँबाट ‘कनेक्टिङ’ उडानमा राखेर उनीहरुलाई नेपाल पुर्याइनेछ ।
अफ्गानिस्तानको पछिल्लो राजनीतिक परिवर्तनसंगै त्यहाँस्थित बेलायती कम्पनीमा कार्यरत नेपालीहरुलाई उक्त कम्पनीले गत अगस्ट १८ मा बेलायत ल्याएको थियो । सोही कम्पनीकै टिकटमा उनीहरुलाई नेपाल पठाउन लागिएको हो ।
बेलायतमा राख्ने क्रममा उनीहरुलाई १ देखि ६ महिनासम्मको भिसा दिलाइएको थियो । ‘आफ्नो भिसा अवधि सकिंदासम्म बेलायतमै बस्ने सुविधा पनि कम्पनीले दिएको छ । तर टिकटबाहेक बेलायतमा बस्दाको सबै खर्च आफै व्यहोर्नुपर्नेछ, काम गर्ने छुट पनि छैन’, नेपाली समाज वील्शायरका अध्यक्ष गुरुङले भने ।
अफ्गानिस्तानबाट आउनेमध्ये धेरै आइतबार नै फर्किने भएपनि केही भने भिसा रहुन्जेल आफ्ना आफ्न्तहरुसँग बसेर बेलायत घुम्ने मनस्थितिमा रहेको उनले बताए ।
स्थानीय नेपालीले गरिदिए शपिङ
यसैबीच, अफगानिस्तानबाट ल्याइएका नेपालीहरु देश फर्किने पूर्वसन्ध्यामा पनि स्वीन्डनवासी नेपालीले सहयोग गरेका छन् ।
यसअघि उनीहरुलाई खाना, लत्ताकपडा लगायत बांडेको नेपाली समाज वील्शायरले शनिबार बिदाइस्वरुप थप शपिङ गराइदिएको छ ।
समाज अध्यक्ष गुरुङका अनुसार नेपाली समाज वील्शायरले घान्द्रुक समाज यूके समेतको सहयोगमा साढे १८ सय पाउन्डको शपिङ गराइदिएको छ । जसबाट सबैजनालाई टिसर्ट, सर्ट, हाफ पेन्ट, जुत्ता मोजा, झोला लगायत सहयोग गरिएको छ ।