कोरोना कहर बिर्सेर नेपाली मेला जान उत्साहित छन् बेलायतवासी नेपाली
लन्डन । ‘आइतबार नेपाली मेला जान अनलाइनबाट मगाएको सारी आइपुगेको छ, ब्लाउजका लागि साउथहलमा अर्डर दिएको आज लिन जानुछ’- हन्स्लो बस्दै आएकी अस्मिता उत्साहित हुंदै भन्छिन्, ‘लकडाउनभित्र घर र कामले दिक्क भएका बेला कोरोना लागे पनि नेपाली मेला त छोडिन्न ।’
नेपाली मेलामै सहभागिता जनाउन स्कटल्याण्डदेखि पत्रकार डा शिव तिवारी शुक्रबार नै लन्डन आइसकेका छन् । ‘कोरोना महामारीका कारण निकै लामो समयदेखि ठूलो जमघटमा जान नपाएकाले मेलामा थुप्रै साथीभाइसंग भेटघाट गर्ने अपेक्षा लिएर लन्डन आएको छु’, तिवारीले सुनाए ।
लन्डन नर्थहोल्ट बस्ने पूर्व कान्तिपुरकर्मी फातिमा बानु हुन् वा अल्पर्टन निवासी शशी गुरुङ, पहिलोपटक मेला जान उनीहरु निकै उत्साहित देखिन्छन् । उनीहरुजस्ता अन्य थुप्रै मानिस नेपाली मेलाका लागि टाढा टाढाबाट आउने तयारीमा छन् ।
भोलि आइतबार लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा हुन गइरहेको १२ औं नेपाली मेलामा सहभागी हुन बेलायातवासी नेपालीहरु निकै उत्साहित पाइएको छ । कोरोनाको कहरले महिनौंदेखि जमघटबाट टाढा रहेकालाई नेपाली मेलाले निकै राहत मिल्ने अपेक्षा छ ।
नेपाली कला संस्कृति झल्कने झांकी, नृत्य साथै खाना र अन्य विभिन्न व्यापारिक स्टलले नेपालकै झल्को दिने मेला भेटघाटको एउटा माध्यम पनि हो ।
कार्यक्रमको अन्तिम तयारीका लागि आयोजकहरु शनिबार नै कार्यक्रमस्थल पुगेर तयारीमा जुटेका छन् । ‘कार्यक्रममा राम्रै सहभागिता हुने आशा छ । कोरोना महामारीका कारण विगत जस्तो त नहोला तैपनि राम्रै उपस्थिति हुने अपेक्षा राखेका छौं’, तमुधिं यूकेका मिडिया संयोजक सविन्द्र कुमार गुरुङले बताए ।
तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको हो मेला । नेपाली मेला सन् २००९ देखि हरेक वर्ष हुंदै आएपनि गत वर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।
मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्नेछन् । बिहान १० देखि राती ८ बजेसम्म चल्ने उक्त मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झांकी र नृत्य प्रस्तुत गर्नेछन् ।
विशेषगरी नेपाली मौलिक भेषभूषा देखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जांतो लगायतका सामग्री पनि प्रदर्शन गरिनेछ मेलामा ।
विजेतालाई एम्बासडर कपसहित आकर्षक पुरस्कार समेत व्यवस्था छ ।
कोरोना महामारीको प्रभाव कायमै रहेकाले मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र कार्यक्रमको अघिल्लो दिन सम्भव भए सबैले एकपटक परीक्षण गराउन पनि आयोजकको आग्रह छ ।