बेलायतले दिएको एक लाख ३० हजार डोज खोप नेपालमा
लन्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले द्विपक्षीय सहायताअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल पुगेको छ ।
बेलायत सरकारद्वारा उपलब्ध गराइने भनिएको एक लाख ३० हजार मात्रा एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं पुगेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । बेलायत सरकारले गरेको सहयोगका लागि दूतावासले आभार समेत प्रकट गरेको छ ।
खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।
खोप हस्तान्तरणपछि राजदूत पोलिटले बेलायतले आफ्नो पुरानो मित्रराष्ट्र नेपाललाई कोभिडविरुद्धको खोप सहयोग प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताइन् ।
‘कोभिशिल्ड’ कार्यक्रमअन्तर्गत बेलायत सरकारले गरेको सहयोगअन्तर्गत यो खोप नेपाल पुगेको उनले स्पष्ट पारिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत) ले खोपको पूरा मात्रा लगाएका छन् ।
खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको संख्या ३० प्रतिशत छ ।
यसैगरी सरकारले कोरोनाविरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
हाल नेपालमा दैनिक तीन लाख मानिसहरुले खोप लगाउने गरेकोमा यो संख्या बढाएर पाँच लाख पुर्याउने सरकारको लक्ष्य छ ।