बिहीबार, माघ ३, २०८१
23:50 | ०५:३५

अफगानिस्तानबाट उद्धार गरेर बेलायत ल्याइएका नेपाली फर्कन आतुर

नेपाली लिङ्क अगस्ट २६, २०२१


लन्डन । अफगानिस्तान तालिवानको कब्जामा आएसंगै उत्पन्न असहज परिस्थितिमा उद्धार गरेर बेलायत ल्याइएका सयौं नेपाली अहिले घर फर्कन व्यग्र प्रतिक्षामा छन्।

यहाँ उनीहरुको साथमा केही नहुँदा बरु छिट्टै स्वदेश फर्कदा आनन्द हुने उनीहरु बताउँछन्।

विगत ६ बर्ष देखि अफगानिस्तानस्थित क्यानेडियन दूतावासमा काम गरेका हर्कबहादुर थापा बेलायतले उद्धार गरेर सकुशल यहाँ ल्याइदिएकामा आभारी छन्। स्वीण्डनको जुरी इन होटलमा राखिएका ५२ नेपालीमध्ये एक उनी भन्छन्, ‘धन्न ज्यान बचाएर यहाँ आइपुग्यौं । अब घर फर्कन पाए ढुक्क हुने थियो ।’

अफगानिस्तान रहँदा मन त्रसित भएपनि बेलैमा विमान चढ्न पाएर सुरक्षित भएको उनले बताए ।

तालिवानले देश कब्जा गरे लगत्तै हतार हतार छोड्नु पर्दा कति नेपालीले आफ्नो समान लिन भ्याएपनि कति खाली हात विमान चढ्न वाध्य भए । झोला हाल्न पाएकाको पनि ति लगेज कहाँ छन् अत्तोपत्तो नहुँदा सास्ती भएको छ ।

अफगानिस्तानमा क्यानेडियन, जर्मनी दूतावासमा कार्यरत थिए नेपालीहरु । नेपाल फर्कनुअघि यहाँ उनीहरुलाई लत्ता कपडा, झोला लगायत सामग्री खाँचो छ ।

अहिले हार्ट इन्टरनेशनलमार्फत काम गरेका करिब ११७ जना स्वीण्डनको जुरी इन र रेडिङ नजिक होटल हिल्टनमा क्वारेनटिनमा छन्। उनीहरु कहिले फर्कने भन्ने टुंगो लागिसकेको छैन् ।

बेलायतले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीमध्ये गार्डा वर्ल्ड कम्पनीमा कार्यरत १०१ जना सोमबार नेपाल पुगिसकेका लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावाससँग अफगानिस्तानबाट बेलायत ल्याइएका नेपाली कति छन् यकिन तथ्याँक छैन् । तर उसले बेलायतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बेलायत ‘ट्रान्जिट’ मा राखिएका नेपालीसँग सम्पर्क भइरहेको र आवश्यक परे दूतावासले कागजात लगायत अन्य सहायता उपलब्ध गराउने बताइन् ।

ति नेपालीलाई यहाँका स्थानीय नेपालीहरुले सहयोग वितरण शुरु गरेका छन् ।

स्वीण्डनको जुरी इन होटलमा राखिएका ५२ जनालाई स्थानीय नेपाली एशोसिएसन अफ वील्सायर, स्वीण्डनले खाना तथा लत्ताकपडा वितरण गरेको थियो ।

एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले शुक्रबार समाजका प्रतिनिधिहरु होटलमै पुगेर सहयोग बाँडिएको जानकारी दिए ।

रेडिङ नजिक होटल हिल्टनमा क्वारेनटिनमा रहेका नेपालीले पनि सहयोग खोजिरहेको पूर्व डिएसपी बाचस्पति रेग्मीले जानकारी दिए ।

बेलायतले अफगानिस्तानबाट हालसम्म झन्डै ११ हजार जनालाई उद्धार गरेर यहाँ ल्याइसकेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

तालिबानले दुई दशकपछि गत अगस्ट १५ मा सत्ता कब्जा गरेसंगै अफगानिस्तानमा रहेका हजारौँ मानिस त्यहाँबाट छिट्टै बाहिरिन भौंतारिरहेका छन् ।

काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अस्तव्यस्त छ । भागदौड र भिडन्तमा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।

तालिबानले उद्धारको समयसीमा यही ३१ अगस्त दिइरहँदा अमेरिकाले यसलाई सबैभन्दा कठिन हवाइ उद्धार भनेको छ ।

देश छोड्न अझै हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने चुनौती छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू