बिहीबार, माघ ३, २०८१
00:20 | ०६:०५

वुल्लिचमा नेपाली ज्येष्ठ नागरिकका लागि साप्ताहिक ‘सोसल सेसन’ शुरु हुँदै

नेपाली लिङ्क अगस्ट २५, २०२१

लन्डन । साउथ इष्ट लन्डनमा बसोबास गर्ने नेपाली ज्येष्ठ नागरिकहरुले अबदेखि नियमित जमघटको अवसर पाउने भएका छन् ।  

ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम (जीएनसिटी) को पहलमा सेप्टेम्बर पहिलो सातादेखि हरेक आइतबार वुल्लिच सेन्ट्रल लाइब्रेरीको हलमा सोसल सेसन संचालन हुने भएको छ ।  

जीएनसिटीका हाउजिङ प्रोजेक्ट लिड देवेन्द्र श्रेष्ठका अनुसार ग्रीनवीच काउन्सिलले हरेक साता वुल्लिच लाइब्रेरीको हल उपलब्ध गराएको छ ।  

‘हाम्रो समुदायका धेरै ज्येष्ठ नागरिकहरु सामाजिक घुलमिलको अवसरबाट वञ्चित हुनुहुन्छ । जसले गर्दा सामान्य समस्या र कठिनाइदेखि मानसिक स्वास्थ्यमै असर पर्नेसम्मको जोखिम रहने गरेको छ’- सोसल सेसनका पहलकर्ता श्रेष्ठ भन्छन्, ‘यो कार्यक्रम उहाँहरुलाई एक आपसमा भेट्ने, दु:खसुख साट्ने र नयाँ कुराहरु सिक्ने प्लेटफर्म बन्ने आशा हामीले लिएका छौं ।’ 

श्रेष्ठका अनुसार आगामी सेप्टेम्बर ५ का दिन सोसल सेसनको शुभारम्भ गरिनेछ । मध्यान्ह १२ देखि दिउँसो ३ बसेसम्मको उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरुले गफगाफ र चियाकफीदेखि नेपाली युटुब भिडियो हेर्ने र उनीहरुले जान, बुझ्न खोजेका कुराहरु सिक्ने अवसर पाउनेछन् ।  

बेलायतमा बसोबास गर्ने क्रममा जान्नैपर्ने आधारभूत विषयहरुमा पनि उनीहरुलाई जानकारी, सल्लाह र परामर्श दिइनेछ ।  

कार्यक्रममा सहभागिताका लागि साउथ इष्ट लन्डनवासी नेपाली ज्येष्ठ नागरिकहरुलाई जीएनसिटीले आव्हान गरेको छ ।  

यसअघि ग्रीनवीच बरोमा बस्ने नेपाली समुदाय र स्थानीय काउन्सिलबीच समन्वय गर्ने लक्ष्यसहित हालै ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम (जीएनसिटी) गठन गरिएको थियो ।  

लछुमन गुरुङको नेतृत्वमा रहेको जीएनसिटीले विभिन्न विषयगत विभागहरु गठन गरी आफ्नो काम अघि बढाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू