गोर्खा समस्या समाधानका लागि एनआरएनए यूकेको विस्तृत योजना सार्वजनिक
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गोर्खा समस्या समाधानका लागि विस्तृत योजना सार्वजनिक गरेको छ ।
एनआरएनए यूके महासचिव खुशी लिम्बुका अनुसार गोर्खा विभाग संयोजक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भूतपूर्व गोर्खाका समस्या समाधान गर्न विस्तृत योजना ल्याएका हुन् ।
पूर्ण कार्यसमितिको मंगलबार भएको दोस्रो भर्चुअल बैठकले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विस्तृत योजना सार्वजनिक गरेको हो ।
अध्यक्ष गाहामगरको संयोजकत्वमा रहेको गोर्खा विभागमा भीम सारु मगर, प्रवक्ता भरतमणि चोङवाङ, सदस्य सचिव चम्पा थापामगर, विनोद बुढाथोकी र भक्त दर्जी छन् ।
उक्त विभागले भूतपूर्व गोर्खा सम्मिलित संगठनहरु बिजिडव्लुएस, गेसो, सत्याग्रह संघर्ष समिति, नेसा, बिगेसो र गोर्खा नागरिकता निरन्तरता यूकेसंग मिलेर काम गर्ने बताइएको छ । ति संस्थाहरुसंग सरसल्लाह गरि गोर्खा विभागले गोर्खा समस्या समाधान गर्न थप पहलदकमी लिनेछ ।
त्यसैगरी, विभागले गोर्खा वेलफेयर ट्रष्ट, गोर्खा वेलफेयर एडभाइस सेन्टरसंग पनि मिलेर अघि बढ्ने योजना तय गरेको छ । विभागमा ले. कर्णेलद्वय टोल खाम्चा र देवेन्द्र आले सल्लाहकार तथा सोलिसिटर राजु थापा कानूनी सल्लाहकार छन् ।
एनआरएनए यूकेले इंग्ल्याण्ड राज्य समन्वय परिषद्, वेल्स राज्य समन्वय परिषद्, स्कटल्याण्ड राज्य समन्वय परिषद् र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद् गरि चारै राज्य समन्वय परिषद अन्तर्गत बसोवास गर्ने सबै भूतपूर्व गोर्खाको समस्या समाधानार्थ पहल गर्ने अध्यक्ष गाहामगरले बताए ।
चार वटा राज्य समन्वय परिषदमा ४ कन्ट्री कोअर्डिनेटर, १२ काउन्टी कोअर्डिनेटर र ५४ जना क्षेत्रीय कोअर्डिनटेर छन् । बेलायतभर ८० जना टिमले आ-आफ्नो ठाउंबाट एकसाथ काम गर्ने बताइएको छ ।
यसवाहेक ७६ जनाको समूह बनाएर अध्यक्ष गाहामगरले काम गरिरहेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय टेन डाउन स्ट्रिट अगाडि गोर्खाहरुले गरेको १३ दिने आमरण अनसनमा पनि एनआरएनए यूकेले निरन्तर ऐक्यवद्धता जनाएको थियो ।