बिहीबार, माघ ३, २०८१
00:11 | ०५:५६

इंग्ल्याण्डमा निशुल्क रक्तचाप परीक्षण गर्ने तयारी

नेपाली लिङ्क अगस्ट २४, २०२१

लन्डन । आगामी अक्टोबरदेखि इंग्ल्याण्डका हाइस्ट्रिट फार्मेसीहरुले ४० वर्ष माथिका मानिसका लागि निशुल्क रक्तचाप (ब्लडप्रेसर) परीक्षण गर्ने भएका छन् । नेशनल हेल्थ सर्भिस (एनएचएस) द्वारा लागू गर्न लागिएको यो नयां स्किमबाट स्ट्रोक र हार्ट अट्याक हुनु अगाडि नै रक्तचाप परीक्षणबाट मानिसहरुको जीवन जोगाउन मद्दत पुग्ने अपेक्षा छ ।

यसबाट पाँच वर्षभित्र हजारौं मानिसको ज्यान बचाउन सकिने अधिकारीहरुले जनाएका छन् । बेलायतमा करिब २५ लाख मानिस हार्ट अट्याकको जोखिममा रहेका र तिनीहरुको परीक्षण गर्नु जरुरी रहेको एनएचएसले जनाएको छ । आउँदो पांच वर्षमा तीन हजार सात सय स्ट्रोक र दुई हजार पाँच सय हार्ट अट्याकका बिरामीलाई जोगाउन सकिने एनएचएसको विश्वास छ ।

‘यदि २५ लाख मानिसको रक्तचाप परीक्षण गरियो भने उनीहरुले आफ्नो जीवनरक्षाको उपचार पाउनेछन् । मानिसहरुलाई समयमै परीक्षण गरेर सम्भावित मृत्युबाट बचाउने एनएचएसको दीर्घकालीन उद्देश्य हो, यसलाई फार्मेसीको सहकार्यले सफल पार्ने आशा छ’- एनएचएसका नेशनल मेडिकल डिरेक्टर प्रोफेसर स्टीफनले बताए ।

जबसम्म आधिकारिक व्यक्तिबाट परीक्षण गरिँदैन, तबसम्म मानिसलाई आफ्नो रोगबारे जानकारी हुंदैन, तसर्थ उक्त अवसरको फाइदा लिन ब्रिटिश हार्ट फाउन्डेसनका जोन मैन्गेले आग्रह गरेका छन् । सामान्यतया यसका लक्षणहरु नदेखिने हुँदा मौन हत्यारा (साइलेन्ट किलर) को रुपमा यो देखा पर्छ ।

तसर्थ आफ्नो रक्तचाप परीक्षण गराउन अत्यन्त जरुरी हुन्छ, त्यसमा पनि परिवारमा मुटु तथा रक्तचाप सम्बन्धि कुनै लक्षण देखिएको छ भने अझ बढी सावधान हुनुपर्ने स्वास्थ्यविदहरुको सुझाव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू