आइतबार, माघ ६, २०८१
08:56 | १४:४१

अमेरिकाद्वारा अफगानिस्तानबाट एकैदिन १७ सयको उद्धार   

रासस-एएनआई अगस्ट २३, २०२१

तस्बिर एपी

वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी छन् ।

उद्धार गर्नुपर्ने सङ्ख्या धेरै रहेकाले उद्धार कार्य छिटो सम्पन्न गर्न खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरू पनि प्रयोग गर्न लागेको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ मानिस अफगानिस्तानबाट भाग्न खोजिरहेका छन् । अफगानिस्तानबाट बाहिरिनका लागि हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ । सुरुका केही दिन तनावपूर्ण र कारुणिक भए पनि अहिले भने सामान्य हुंदै गएको अधिकारीहरुले जनाएका छन् ।

विमानमै बच्चाको जन्म

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ । उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिबार छोरी जन्माएको जनाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आमा र शिशुको तस्वीर समेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुसी लागेको उल्लेख गरेको छ । युएस एयर फोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवैलाई विमानमै स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू