बिहीबार, माघ ३, २०८१
21:53 | ०३:३८

बेलायतमा पुन: उकालो लाग्दै कोरोना संक्रमण

नेपाली लिङ्क अगस्ट २०, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता  पुन: उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

एक सातामा दुई लाख  १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६४ लाख २९ हजार १४७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ६०९ जना संक्रमितको ज्यान गएको छ ।

यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार ४८७ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार ८११ छ ।

गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ८५८ संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ४४१ छ । यस्तै ९२८ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ८८ लाख ४८ हजार ६३३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७५ लाख १६ हजार ५०५ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ लाख ३२  हजार १२८ जना अर्थात ८७.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू