हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो
लेस केयेस, हाइटी, २ भदौ–गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।
भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवितै उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा छ ।
भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने, ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ ।
हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।
सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–औँ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो ।
उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५