खोप कूटनीतिमा असफल राजदूत गोर्खा मुद्धामा पनि निरीह ?
लन्डन । समान अधिकार माग्दै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि तीन पूर्व गोर्खाले थालेको आमरण अनसन दुई हप्ता पुरा हुन थालेको छ । तर अहिलेसम्म पनि उनीहरुले उठाएका अधिकार प्राप्तिको मागहरुको कुनै सुनुवाई भएको छैन ।
बेलायत सरकारले गोर्खा मागहरु सम्बोधनका लागि आश्वस्त पार्न सकिरहेको छैन भने नेपाल सरकारले पनि वक्तव्य र अपिलको औपचारिकताभन्दा माथि उठेर प्रभावकारी कदमहरु चालेको देखिंदैन ।
गोर्खाहरुको आमरण अनसनको अवधि लम्बिँदै जाँदा अनसनमा बसेका दुई गोर्खा र एक गोर्खा विधवाको स्वास्थ्य तथा जीवन रक्षाबारे समेत चिन्ता उत्पन्न हुन थालेको छ ।
बेलायत सरकारबाट सम्बोधनको मागसहित बेलायती प्रधानमन्त्री कार्यालयकै अगाडि अनसन बसेका गोर्खाहरुको जीवन रक्षाकै प्रश्न उठ्ने अवस्थासम्म आइपुग्दा नेपाल सरकारको बेलायतस्थित कूटनीतिक नियोगले के गरिरहेको होला ?
अहिलेसम्म लन्डनस्थित नेपाली दूतावास र राजदूत लोकदर्शन रेग्मीले गोर्खाहरुको अनसनप्रति बेलायत सरकारको ध्यान आकृष्ट गर्न उल्लेख्य कदम अघि बढाएको जानकारीमा छैन ।
गोर्खा अभियन्ताहरुसँग कुराकानी हुँदा ‘कूटनीतिक पहल भइरहेको छ’ भन्ने औपचारिकताबाहेक राजदूत रेग्मीको कुनै ठोस पहल नदेखिएको गोर्खा अभियन्ताहरुको गुनासो छ ।
गोर्खाहरुको बुझाइमा उनीहरुको मुद्धालाई नेपाल सरकारले राष्ट्रिय मुद्धाका रुपमा लिने माहोल तयार पार्न बेलायतका लागि निवर्तमान राजदूत डा दुर्गाबहादुर सुवेदीले ठूलो भूमिका खेलेका थिए ।
दुवै देश र गोर्खाका प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक संयन्त्र निर्माणदेखि उक्त संयन्त्रको १३ बुंदे सिफारिश प्रतिवेदनसम्ममा बेलायतस्थित् नेपाली राजदूतको रुपमा सुवेदीको विशेष भूमिका छ ।
तर उनै सुवेदीलाई प्रतिस्थापन गर्न आएका राजदूत रेग्मीको भूमिकाबाट भने गोर्खाहरु निराश छन् । एक गोर्खा अभियन्ताका अनुसार रेग्मीको भूमिकालाई लिएर गोर्खाहरुमा चरम असन्तुष्टि छ । तर पछि झन् अफ्टेरो पर्ला कि भनेर उनीहरु खुलेर आलोचना गर्न सकेका छैनन् ।
ती अभियन्ताले नेपाली लिंकलाई भने-‘हामी राजदूत सुवेदीलाई मिस गरिरहेका छौं ।उहाँले गोर्खाहरुको पीर-मर्का बुझेजसरी काम गर्नुहुन्थ्यो । हामीलाई सरसल्लाह दिनुहुन्थ्यो, सांच्चीकै अभिभावकको महसुश गराउनुहुन्थ्यो। जुन अभाव अहिले खड्किरहेको छ ।’
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई राजदूत रेग्मीले आफ्नो ठाउँबाट पहल गरे पनि ‘पावर’ नहुँदा परिणाम नआएको बताउँछन् । ‘उहां त एउटा मेसेन्जर न हो, नेपाल सरकारले लगाएको काम गर्ने’ राईले भने, ‘बोरिस जोन्सनले नभनेसम्म एमओडीले टेर्ने देखिएन ।’
गोर्खा मुद्धामा दूतावासले निरन्तर पहल गरिरहेपनि सकरात्मक जवाफ अहिलेसम्म नआएको उपनियोग प्रमुख रोशन खनालले जनाइन् ।
खोप कूटनीतिमा पनि असफल राजदूत रेग्मी
गोर्खा मुद्धामा मात्रै होइन, ‘खोप कूटनीति’ मा समेत राजदूत रेग्मी सफल देखिन सकेनन् ।
आफ्नो सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध र गोर्खा सैनिकको विशेष् नाता रहेको मुलुकका रुपमा पनि बेलायतबाट नेपालले ठूलो आशा राख्नु स्वभाविक थियो ।
नेपाल सरकारले औपचारिक रुपमै पत्र काटेर बेलायतसँग सहयोग माग्यो । राष्ट्रपतिले बेलायती महारानीलाई पत्र पठाएर सहयोगको याचना नै गरिन् । तर बेलायती पक्षबाट सुनुवाई भएन ।
सरकारले गरेको आग्रहमा कूटनीतिक हिसाबले ‘फलो अप’ गर्ने र सहयोग दिलाउने कार्यमा बेलायतस्थित नेपाली राजदूतको प्रभावशाली भूमिका हुन सक्थ्यो । तर राजदूत रेग्मीले कुनै पहल गरेनन् वा पहल नै गरेको भएपनि त्यो प्रभाव शून्य भयो।