लन्डन । भूपू गोर्खाहरुको लन्डनमा जारी आन्दोलनको पक्षमा बुधबार बिहान लन्डनमा फेरि प्रदर्शन हुने भएको छ ।
गोर्खा सत्याग्रह संघर्ष समितिको आमरण अनसन १२ औँ दिनमा पुग्दै गर्दा गोर्खाहरुको पक्षमा प्रदर्शन गर्न लागिएको हो ।
तीन गोर्खा अभियन्ताहरु अनसन बसेको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर बिहान १० बजे प्रदर्शन तय गरिएको सत्याग्रह समितिकी महासचिव सइन्द्र केसीले जानकारी दिइन् ।
गोर्खाहरुलाई समान अधिकार दिलाउने आन्दोलन निर्णायक चरणमा पुगेको भन्दै उनले यो प्रदर्शनमा सहभागी भइदिन बेलायतवासी नेपालीहरुलाई अपिल गरिन् ।
अफ्गानिस्तान मुद्धामा छलफल गर्न बुधबार बेलायती संसदको विशेष बैठक बस्दैछ । सोही बैठक बस्नुअघि गर्न लागिएको प्रदर्शनले संसदमा गोर्खा मुद्धालाई समेत प्रवेश गराउन आवश्यक दबाब सिर्जना गर्ने आशा सत्याग्रहको छ ।
सत्याग्रहका अर्का अभियन्ता लक्ष्मी घिसिङले जारी गोर्खा आन्दोलनप्रति बेलायतस्थित नेपालीहरुले देखाएको सद्भाव र ऐक्यवद्धताका लागि आभार प्रकट गर्दै बुधबारको विशेष प्रदर्शनमा पनि भाग लिन आव्हान गरेका छन् ।