कोरोना महामारीमा गरेको योगदानले ‘लोकल हिरो’ बने कमल पूर्जा
लण्डन । कोरोना महामारीका बेला पुरयाएको उत्कृष्ट योगदानको कदर गर्दै बेलायतका समाजसेवी भूतपूर्व गोर्खा कमल पूर्जालाई इस्टली बरो काउन्सिलले लोकल हिरोजबाट सम्मान गरेको छ ।
महामारीको चुनौतिपूर्ण समयमा पूर्जाको सक्रियता र समाजसेवी भावनाको कदर गर्दै उनलाई स्थानीय काउन्सिल र बासिन्दाहरुको तर्फबाट ‘इस्टली लोकल हिरो’ अर्थात स्थानीय नायकको रुपमा सम्मान गरिएको हो ।
माहामारीका बेला समाजमा उनले गरेका विभिन्न किसिमको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको काउन्सिलले जनाएको छ ।
पूर्जाले विशेष गरि शारिरीक रुपमा अशक्त तथा कमजोर रहेका गोर्खा नेप्लिज कम्युनिटीका सदस्यहरुमाझ कल्याणकारी भूमिका निर्वाह गरेका थिए ।
उनले दैनिक जीविकोपार्जनका लागि अत्यावश्यक सामग्री खरिद गर्ने, औषधिका लागि प्रिस्क्रिप्शन मगाइदिने, अस्पताल पुरयाउने देखि दोभाषेको समेत काम गरेका थिए ।
लोकल हिरोको रुपमा सम्मान गर्ने अवसर पाएकोमा इस्टली बरो मेयर सिन्थीया गार्टनले खुशी व्यक्त गरेकी छन् ।