बिहीबार, माघ ३, २०८१
21:34 | ०३:१९

एनआरएनए यूके दशौं कार्यसमितिको पहिलो बैठकमा के-के निर्णय भए ?

नेपाली लिङ्क अगस्ट १६, २०२१

  •  प्रवक्ता भरतमणि चोङवाङ, श्याम लुइंटेल र आवेश राई को-अप सदस्य 
  • सल्लाहकार २५ देखि ३१ को बीचमा राख्ने
  • अफिस चलाउन कार्यसमितिका सबैबाट मासिक २० पाउन्ड डाइरेक्ट डेबिट 
  • एक दर्जन बढी विभाग गठन 

लन्डन । एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ नियुक्त भएका छन् ।

सोमबार अल्डरसटको प्यालेस हलमा बसेको प्रेम गाहा मगर नेतृत्वको दशौं कार्यसमितिको पहिलो बैठकले चोङवाङलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैठकपछि सचिव ज्ञानेन्द्र आलेले नेपाली लिंकलाई दिएको जानकारीअनुसार बैठकले श्याम लुइंटेल र आवेश राईलाई को-अप सदस्यमा मनोनित गरेको छ । बांकी एक को-अप सदस्य अर्को बैठकले मनोनित गर्ने भनिएको छ ।  

बैठकले सल्लाहकारहरुको मनोनयन पनि आगामी बैठकबाट गर्ने निर्णय गरेको छ । सल्लाहकारको संख्या ३३ सदस्यीय कार्यसमितिभन्दा सानो हुने गरी २५ देखि ३१ को बीचमा राख्ने  सहमति बैठकमा गरिएको छ ।  

बैठकले शेरबहादुर सुनारलाई संस्थाको प्रमुख संरक्षकमा आधिकारिक रुपमा नियुक्त गरेको छ । यसअघि नै अध्यक्ष गाहामगरले यो प्रस्ताव घोषणा गरेका थिए ।  

बैठकले संस्थाको स्थायी कार्यालय स्थापना नहुन्जेलका लागि अल्डरसटमा अफिस संचालन गर्न कार्यसमितिका हरेक पदाधिकारी र सदस्यबाट मासिक २० पाउन्ड ‘डाइरेक्ट डेबिट’ लिने निर्णय गरेको छ ।

बैठकले एक दर्जन बढी विभाग गठन र जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार गोर्खा र खेलकुद विभागको जिम्मा अध्यक्ष गाहामगरले नै लिएका छन् । गोर्खा विभागमा चम्पा थापा र भरतमणि चोङवाङलाई पनि सदस्य राखिएको छ ।

उपाध्यक्षहरुमध्ये सुनिलबाबु खड्का संघसंस्था समन्वय, गोविन्द खरेल च्यारिटी, नारायण कंडेल कानूनी परामर्श तथा अनुसन्धान र भाषा, मोहन कार्की नागरिकता निरन्तरता, रामचन्द्र पोखरेल सदस्यता र सकुन्तला गुरुङ कला, संस्कृति विभागको संयोजक तोकिएका छन् ।  

त्यस्तै, महासचिव खुशी लिम्बू एक एनसिसी एक च्यारिटी, सचिव ज्ञानेन्द्र आले व्यापार प्रवर्द्धन्, सचिव विष्णु चालिसे र सदस्य भानु घिमिरे नेपाली खाना प्रवर्द्धन्, कोषाध्यक्ष विष्णु खरेल आर्थिक, युवा संयोजक अनिल मल्ल युवा र महिला संयोजक विमला लिम्बू महिला विभागको संयोजक बनेका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुबाट सपना खनियाले धर्म, बालकृष्ण दाहाल र सुमन शर्माले दैवीप्रकोप तथा आपतकालीन, सुरेश परियारले कला, आवेश राईले अनलाइन सदस्यता व्यवस्थापन, चेत रानाले युवा र श्याम लुइंटेलले संघसंस्था समन्वय विभाग सदस्यको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, प्रवक्ता भरतमणि चोङवाङलाई मिडिया तथा प्रकाशन विभागको संयोजक तोकिएको छ ।

विभागहरुमा आवश्यकताअनुसार सदस्यहरु थप गरिने जनाइएको छ ।  

बैठकले निवर्तमान कार्यसमितिबाट ‘ह्यान्डओभर’ कार्य सेप्टेम्बर ६ भित्र पूरा गर्ने निर्णय गरेको छ ।  

अध्यक्ष गाहामगरको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो । बैठक संचालन महासचिव खुशी लिम्बूले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू