साउनको अन्तिम सोमबार लन्डनको पशुपतिनाथ मन्दिरमा घुइँचो
लन्डन–साउन महिनाको अन्तिम सोमबार लन्डनस्थित पशुपतिनाथ मन्दिरमा व्रतालुहरुको घुइँचो लागेको छ । महिनाभर सोमबार व्रत बसेका महिलाहरु बिहानैदेखि मन्दिर पुगेर पूजा अराधाना गर्दै व्रत समापन गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार सोमबार तीन सय बढी महिलाले मन्दिरमा पूजाआजा गरी व्रत सम्पन्न गरे । जसमध्ये बेलायतका लागि नेपाली राजदूतपत्नी चन्द्रा रेग्मी पनि एक थिइन् ।
मन्दिरमा बिहानै ७ बजे देखि नै व्रतालु महिलाहरुले पूजाआजा शुरु गरेका थिए । उनीहरुले बिहान १० बजे सामूहिक रुपमा साउनको व्रत समापन विशेष पूजामा भाग लिएका थिए ।
पूजा कार्यक्रमपछि मन्दिर सत्संग समितिको संयोजनमा भजन किर्तन समेत गरिएको थियो । व्रतालुहरुलाई मन्दिर समितिका कोषाध्यक्ष भोजराज कंडेलको समूहले प्रसाद तयार गरी वितरण गरेको थियो ।
मन्दिरका मूल पण्डित निलहरि घिमिरेले पूजा संचालन गरेका थिए ।
यसैबीच, लन्डन पशुपतिनाथ मन्दिरमा आउंदो आइतबार जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष कार्यक्रम आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि नै मन्दिरमा जनै तथा डोरो वितरण कार्यक्रम राखिएको छ ।
मन्दिर समितिका अध्यक्ष पाण्डेले जनैपूर्णिमा तथा रक्षाबन्धनमा सहभागी हुन सबै भक्तजनहरुलाई आव्हान गरेका छन् ।
त्यस्तै, पशुपतिनाथ मन्दिरको आयोजनामा वर्षेनी हुँदै आएको तीज विशेष कार्यक्रम सेप्टेम्बर ९ तारिख तीजको दिन हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष मन्दिरमै सिमित गरिएको कार्यक्रम यसपटक भने विगतमा जस्तै प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा गर्ने तयारी छ ।