गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न सांसदहरुको आग्रह
काठमाडौं–नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारे अहिलेसम्म जवाफ नआएको बताए ।
नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले १० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
सांसद मोहनप्रसाद पाण्डेले पूर्व गोर्खाको शिर उच्च बनाउन भूमिका खेलेको हुनाले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भाषा परीक्षा पास गरेका नागरिकलाई दक्षिण कोरिया जाने व्यवस्था मिलाउन आग्रह गरे ।
काँग्रेसका रामबहादुर विष्टले अछाममा भारी वर्षाका कारणले विस्थापित भएका परिवारको उद्धार र उपचारमा ध्यान दिन सरकारसँग माग गरे ।
उनले पहिरोका कारण बस्ने ठाउँ नै नभएको र गाउँ नै छाडेर जानुपर्ने भएको हुनाले ठूलो समस्या परेको जानकारी गराउँदै पालमा बसेकालाई हातमुख जोड्न धौधौ भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भूमि आयोगलाई व्यवस्थित बनाइ भूमिहीन, सुकुम्बासीको समस्याको समाधान गर्नुपर्ने र त्यसका लागि विगतको सरकारले गठन गरेको आयोगले स्थानीय तहसँग मिलेर गरेको कामलाई मान्यता दिन आग्रह समेत गरे ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादवले अफगानिस्तानमा अलपत्र परेका नेपालीको अवस्था सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानकर्षण गराए ।
नेमकिपाका प्रेम सुवालले वाग्मती सरसफाइ अभियानअन्तर्गत अर्बौ खर्च भए पनि फोहरमैला व्यवस्थापन अहिलेसम्म नभएको बताए । उनले भू–माफियाले जथाभावी डोजर चलाएर वन जङ्गल, खोलानालासमेत मासेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
एमालेका प्रेमप्रसाद तुलाचनले अफगानिस्तानमा रहेका नेपालीको समस्या बारेमा परराष्ट्र र श्रममन्त्री तत्काल नियुक्ति गरी उनीहरुको उद्धारका लागि काम गर्नुपर्ने माग गरे ।
नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले सरकारले अफगानिस्तानमा रहेका नागरिकको अवस्था पत्ता लगाइ तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।
एमालेका महेश बस्नेतले सूर्यबिनायक–धुलिखेल सडक विस्तारका लागि विगतको सरकारले छुट्ट्याएको बजेट सरकारले हटाउन लागेकोप्रति आपत्ति व्यक्त गर्दै उक्त कार्य नगर्न सरकारको ध्यानाकर्षण गराए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५