अनसनरत भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा विशाल प्रदर्शन
लण्डन । भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ । यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै ‘रेस्पोन्स’ नगरेपनि आमरण अनसनप्रति ब्रिटिश भेट्रान तथा आमनागरिक सबै एकजुट भएका छन् ।
ब्रिटिश अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धि मुद्धाको बारेमा आवाज उठाएकी छन् । भोक हड्तालमा बसेका अनसनकारीहरुलाई भेटेर उनीहरुको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्।
यसैगरी भूतपूर्व गोर्खा एवंम् सफल आरोही निर्मल पूर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो शन्देशमार्फत आफ्नो आक्रोश पोखेका छन् ।
उनीहरुको समर्थनमा शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा ब्रिटिश भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विशाल प्रदर्शन गरे ।
शनिबार भएको प्रदर्शनीमा सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए ।
यसैगरी नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखेनांच समेत प्रदर्शन गरिएको थियो ।
यसैगरी सत्याग्रहकै आव्हानमा आइतबार प्रधानमन्त्री कार्यालय अगाडि गरिएको विशाल प्रदर्शनीमा हजारौंको संख्यामा नेपाली तथा विदेशीहरुको भीड लागेको थियो ।
m’ ब्रिटिश भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ’ गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।
गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले विगत १० दिनदेखि आमरण अनसनमा छन् ।
समानताको लडाईंमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।
आमरण अनसनको विषयलाई विभिन्न राष्ट्रिय मिडियाहरूले समेत निकै चासोका साथ हेर्दै आएका छन् । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने संसद्मा समेत आवाज उठाएको छ ।
ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरू सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधानमा जोड दिंदै आएका छन् ।
सर्वदलीय संसदीय समितिले विगतदेखि नै गोर्खा समस्याको निष्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको उल्लेख गर्दै उनीहरुले पत्रमा गोर्खाहरुले सम्मान महशुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।
सांसदहरुले प्रधानमन्त्री जोन्सनलाई आमरण अनसन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्ने हजारौं भेट्रान्सको चासोबारे छलफल गर्न पनि आग्रह गरेका छन् ।
पत्रमा वार्ताले आमरण अनसन बसेका गोर्खाहरुको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुको विश्वास छ ।
तस्विर साभार-सामाजिक संजाल