गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई चौतर्फी दबाब
लन्डन । बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खा भूतपूर्व सैनिकको पेन्सन मुद्दा समाधान गर्न जोड दिएका छन् ।
ब्रिटिश संसदको सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मासहित सांसदहरु सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालिन समाधानमा जोड दिएका हुन् ।
सर्वदलीय संसदीय समितिले विगतदेखि नै गोर्खा समस्याको निष्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको उल्लेख गर्दै उनीहरुले पत्रमा गोर्खाहरुले सम्मान महशुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।
सांसदहरुले प्रधानमन्त्री जोन्सनलाई आमरण अनसन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्ने हजारौं भेट्रान्सको चासोबारे छलफल गर्न पनि आग्रह गरेका छन् ।
पत्रमा वार्ताले आमरण अनसन बसेका गोर्खाहरुको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुको विश्वास छ ।
भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत अधिकारका लागि अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प राना घले गत शनिबारदेखि आमरण अनसनमा छन् ।
शनिबार अनसनको ८ औं दिन प्रवेश गर्दा उनीहरुको स्वास्थ्य जटिल बन्दै गएको छ । चौतर्फी दबाब र अनुरोध हुंदा पनि बेलायत सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।
गोर्खाहरुले भने नेपाल र बेलायत सरकारबीच उच्चस्तरिय वार्ता टोली गठन र वार्ताको मिति नतोकिएसम्म भोक हड्ताल अन्त्य नगर्ने अडान लिएका छन् ।
उता, गोर्खाहरुको आमरण अनसनप्रति ऐक्यवद्धता जनाउन शुक्रबार नै सोलिसिटर राजु थापाको पहलमा लेबर पार्टीका सांसद बीरेन्द्र शर्मा, इलिङका पूर्व मेयरहरु काउन्सिलर रन्जित धिर र हरभजन कौर, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ र यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी अनसनस्थल पुगेका थिए ।
यसअघि एनआरएनए यूके, नेपाल पत्रकार महासंघ यूके, प्रवासी नेपाली मञ्च यूके लगायत कयौं संघसंस्थाले गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता जनाइसकेका छन् ।
प्रवासी नेपाली मञ्च यूकेले बिहीबार राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र दिंदै गोर्खा समस्या समाधानका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न आग्रह गरेको थियो ।
भूतपूर्व गोर्खाहरुको समर्थनमा शनिबार र आइतबार बेलायती प्रधानमन्त्री कार्यालयत तथा संसद भवन अगाडि विशाल प्रदर्शनको तयारी छ ।