बिहीबार, माघ ३, २०८१
20:44 | ०२:२९

बेलायत निवासी अभियन्ता दयानिधि युरोप उपसंयोजकमा उम्मेदवारी दिंदै

नेपाली लिङ्क अगस्ट १३, २०२१

लन्डन । बेलायत लेस्टर निवासी एकजना सफल व्यवसायी तथा एनआरएनए अभियन्ता दयानिधि सापकोटा एनआरएनए केन्द्रिय नेतृत्वको आकांक्षी देखिएका छन् । 

उनले आउंदो अक्टोबरमा हुने एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘बेलायत एनआरएनएको जन्मभूमि पनि हो। बेलायत लगायत युरोप भरिका नेपालीहरुलाई समेट्ने र गोर्खा समस्या समाधान गर्न मैले सक्दो पहल गर्ने छु,” उनले भने ।

 हाल बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य रहेका सापकोटा सन् २००६ देखि नै गैर आवासीय नेपाली अभियानमा सक्रिय रहदै आएका छन्। 

ब्रिटेनको मिडल्यान्ड क्षेत्रमा गैर आवासीय नेपाली संघको पहुँच बलियो बनाउन र राज्य समिति बनाउन उनी अनवरत लागेका थिए। 

गत साता सकिएको एनआरएनए यूके निर्वाचनको निर्वाचन मण्डलमा बसेर उनले नयां कार्यसमिति घोषणामा देखिएको ढिलाइ र असहज परिस्थितिलाई ‘सेफ ल्याण्डिङ’ गराएपछि उनको लिडरसीप क्षमता एकपटक फेरि चर्चामा रह्यो ।

‘म नेपाली समाजमा केही गर्नुपर्छ भन्ने सदैव चाहना
राख्ने व्यक्ति हुं । मेरो पारिवारिक विरासतले पनि त्यही सिकाएको थियो । पेशागत दक्षता बांडेर होस् वा आर्थिक, सामाजिक सहयोग दिएर, म मातृभूमिसंग सधैं सामिप्यमा रहें र अब पनि रहनेछु’,उम्मेदवारी दिनुको प्रमुख कारण समाजसेवा नै रहेको प्रष्टयाउंदै उनले बताए । 

बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ दिदै आएका उनले  नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् 

 बाग्लुङबाट जर्मनी हुँदै बेलायत

बेलायतको नेपाली समुदायमा ‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको परिचय बनाएका दयानिधिको विगत–वर्तमान, व्यवसाय र एनआरएन अभियान बडो रोचक छ । 

बेलायतको लेस्टरमा दुई रेष्टुरेन्टका मालिक हुन् उनी । सापकोटाको सन् २०१३ देखि सञ्चालित इटालियन रेष्टुरेन्ट ‘ओजी’ र लेस्टरमै नेपाली रेष्टुरेन्ट गोर्खा एम्बेसी पनि चालु छ । उनी जति कमाउंछन्, समाजलाई त्यति नै दान गर्छन् । सायद चन्दा दिन नाइं भन्न नसक्ने भएर होला, आम्दानीको ठूलो हिस्सा च्यारिटीमै सकिन्छ । 

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । जर्मनी जानु आफ्नो वाध्यता र रहर दुवै भएको स्मरण गर्छन् दयानिधि । 

उनले करिब १५ वर्ष समय जर्मनीमा बिताए । ‘जर्मनी बसाइकै क्रममा पनि मैले आफूले पढेको विद्यालयलाई प्लस टु हुंदै क्याम्पससम्म बनाउन भवन निर्माण, संरचना र अन्य ‘लजिस्टिक’ सहयोगका लागि पहल गरें । जर्मनी रहंदा यूरोपका विभिन्न देश जाने र आफ्नो अनुभव संगाल्ने अवसर मिल्यो’, उनी स्मरण गर्छन् । 

सन् २००६ अक्टोबर १ मा बेलायत आएपछि युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा बुझ्न पाएको उनी बताउंछन् । बेलायत अरु युरोपियन देशहरु भन्दा बहुआयामिक, प्रजातान्त्रिक र बहुधार्मिक लागेकाले यहीं बसेर रोजगारीतर्फ लागेको उनले सुनाए । ‘म संग करिब २५ वर्ष ‘इटालियन ग्यास्ट्रोनोमी’ को अनुभव भएकाले जर्मनी बस्दा पनि इटालियन रेस्टुरांको प्रोपाइटर थिएं । त्यसैको अनुभव लिएर सन् २०१३ मा मैले यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोल्न सफल भएं’, दयानिधि भन्छन्, ‘अहिलेसम्म यही पेशामा आवद्ध छु । नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतिपूर्ण पेशामा म सफल भइरहंदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।’ 

उनी विद्यार्थी जीवनमा पनि सामाजिक, आर्थिक र राजनीतिक विकासमा अति चासो दिने गर्दथे । त्यसै कारण यूकेको आफ्नो असाध्यै प्यारो शहर लेस्टरमा नेपाली समाजलाई सशक्त बनाउने अभियानमा जुटे उनी ।

‘त्यसमा मेरा सहकर्मी साथीहरुले अहोरात्र सहयोग गर्नुभयो । परिणामतः मैले सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकालको अध्यक्ष भएर ४ वर्ष काम गर्ने सौभाग्य पाएं । म अहिले पनि सबै साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दै नमन गर्न चाहन्छु’, उनी भन्छन् । तत पश्चात साझा नेपाली समाज गठन गर्नका लागि फेरी पनि सामुदायिक नेताहरुबाट जिम्मेवारी पाएअनुसार संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर काम गर्ने सौभाग्य पाए उनले । जसमा सृजनशील लेस्टर नेपाल यूके, नटिङघम नेपाली समाज यूके, पिटरबरो नेपाली समाज यूके, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्डको पहलमा साझा नेपाली समाज स्थापना भयो र उनले त्यसको आपतकालीन राहतकोष संयोजक भएर काम पनि गरे । 

त्यस्तै उनले ‘आफ्नो गाउं आफैं बनाउं’ भन्ने अभियान लिई आफ्नो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क यूकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाए । यसले गर्दा समाजमा अझ काम गर्ने उर्जा थपिएको उनी बताउंछन् ।

‘म नेपाली समुदायको माया देखेर आफूलाई भाग्यमानी पनि ठान्छु । नेपाल ब्रिटेन डट कमले हरेक वर्ष बेलायतका १० चर्चित व्यक्ति छान्ने क्रममा सन् २०१४ मा दश चर्चित व्यक्तिमध्ये म पनि पर्न सफल हुंदा र समाजमा गरेका कामहरुको मुल्यांकन हुंदा गौरवान्तित महशुस गरेको छु’, उनले भने ।

दर्जनौं सामाजिक संस्थाहरूमा काम गरेर अनुभव हासिल गरेका दयानिधि गैर आवासीय नेपाली संघ मा सक्रिय रूपमा काम गर्ने चाहना भएको बताउँछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू