आइतबार, माघ ६, २०८१
03:32 | ०९:१७

मौद्रिक नीति: कोरोना प्रभावित क्षेत्रको पुरुत्थानमा प्राथमिकता

रासस अगस्ट १३, २०२१

काठमाडौं–कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूको पुनरुत्थान गर्दै अर्थतन्त्र विस्तारमा सहयोग पुरयाउने प्रमुख ध्येयका साथ चालु आर्थिक वर्षको मौद्रिक नीतिले आफ्नो कार्यदिशा तय गरेको छ । 

मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाई मौद्रिक नीतिको सन्तुलित कार्यदिशा अवलम्बन गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै, मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने दबाबतर्फ सजग रहँदै मौद्रिक नीतिको अङ्कुशको रूपमा रहेको विद्यमान स्थिर विनिमयदर पद्धतिलाई कायम राख्दै समष्टिगत आर्थिक स्थितिका आधारमा मौद्रिक व्यवस्थापन गरिने भएको छ । 

वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउँदै उपलब्ध वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास र दिगो तथा समावेशी आर्थिक विकास हासिल गर्नेतर्फ नीति परिलक्षित गरिएको छ । 

त्यस्तै, ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत् ब्याजदर स्थायित्व कायम हुने गरी तरलता व्यवस्थापन गरिने भएको छ । 

वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थामा सुशासन प्रवद्र्धन तथा सुदृढीकरण गरी वित्तीयमध्यस्थताको कार्यलाई कुशल र प्रभावकारी बनाइने भएको छ भने भुक्तानी कारोबारमा विद्युतीयमाध्यमको प्रयोगलाई प्रवद्र्धन गरी नगद कारोबार न्यूनीकरण गर्दै लगिने नीतिको कार्यदिशा छ । 

वित्तीय पूर्वाधारको विकास र वित्तीय साक्षरता अभिवृद्धिमार्फत् वित्तीय पहुँच तथा वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने एवम् आर्थिक तथा मौद्रिक लक्ष्य प्राप्तिमा ध्यान दिइएको छ । उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्नुको साथै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्ने नीतिको अर्को लक्ष्य छ ।

 आव २०७८-७९ मा कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा वाह्य क्षेत्र व्यवस्थापन गरिनेछ ।

यसैगरी कूल गार्हस्थ्य उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारको रूपमा लिई आव २०७८-७९ मा विस्तृत मुद्राप्रदायको बिस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू