आइतबार, माघ ६, २०८१
12:17 | १८:०२

आमरण अनसनरत भूतपूर्व गोर्खा आन्दोलनमा एनआरएनएद्वारा ऐक्यबद्धता

नेपाली लिङ्क अगस्ट १२, २०२१

लन्डन ।  गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघले ऐक्यबद्धता जनाएको छ । साथै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेका भूतपूर्व गोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघले भर्त्सना गरेको छ ।

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधवार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसनमा बसेका भूतपूर्व गोर्खामाथि भएको प्रहरी दमन मानव अधिकारको हनन भएको बताएका  हुन् । केसीले दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भूतपूर्व गोर्खाहरुले बेलायती साम्राज्य ठूलो पार्न अहम भूमिका रहेको स्मरण गरेका छन् ।

उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती साम्राज्य संसारभरि फैलिएको बताउदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपू गोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले गोर्खा आन्दोलनबारे संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषण गराएका छन् ।

गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले पनि ऐक्यबद्धता जनाइसकेको छ ।

एनसीसी यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको एक प्रतिनिधिमण्डलले अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू