आइतबार, माघ ६, २०८१
03:35 | ०९:२०

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

रासस अगस्ट ११, २०२१

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनःरुत्थानमा मद्दत पुरयाउने विश्वास व्यक्त गरे ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एडिबीका देशीय निर्देशक कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनःरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुरयाइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।

यसबाहेक एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू