आइतबार, माघ ६, २०८१
15:20 | २१:०५

अमेरिकामा कोरोना संक्रमण र मृत्युदर बढ्न सक्ने चेतावनी

रासस-सिन्ह्वा) अगस्ट ५, २०२१

तस्बिर एएफपी

वासिङ्टन । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ । अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्न सक्ने बताएको छ ।

सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ । सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशित गर्दै कोभिड सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

आगामी चार हप्ता अर्थात् अगष्ट २८ तारिखसम्ममा दुई हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । यी चार हप्तामा बढीमा २४ हजार जना जति सङ्क्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ सङ्क्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ । बुधबारसम्म यहाँ छ लाख १४ हजार ७०० जनाको निधन भएको छ । यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि सङ्क्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ ।

केही दिन यता यो सङ्क्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका सङ्क्रमित हुन पुगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू