आइतबार, माघ ६, २०८१
06:34 | १२:१९

नेपालमा दुई हजार ८ सय बढी संक्रमित

रासस जुलाइ २१, २०२१

काठमाडौ–आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ८३२ छ । अधिकारीका अनुसार नेपालमा संक्रमणदर १९.२ प्रतिशत छ । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण भइरहेको छ ।

स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए

आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ । योसँगै नौ हजार ६३७ जना संक्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसङ्ख्यामा ३२४.८ जनाको निधन भएको छ ।

अधिकारीका अनुसार २४ हजार ३४० जना होम आइसोलेशन, दुई हजार ४९२ जना संस्थागत आइसोलेशन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा छन् ।

काठमाडौँ उपत्यकामा ६९७ जना थपिए

काठमाडौँ उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना संक्रमण थपिएका हुन् । अधिकारीले अझ पनि धेरै व्यक्ति संक्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । ‘जति धेरै परीक्षण गरयो । त्यति नै मानिसलाई बचाउन सकिन्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।’

सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताए । उनले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै संक्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

उनले अहिले पनि अस्पतालमा कोभिड–१९ का संक्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गरे । उनले कोभिड–१९ संक्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू