आइतबार, माघ ६, २०८१
17:46 | २३:३१

इराकको कोभिड अस्पतालमा आगलागी हुंदा ४१ को निधन   

रासस-सिन्ह्वा जुलाइ १३, २०२१

बगदाद–इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९ का बिरामीहरुको उपचार जारी थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमिटर टाढा छ ।

विशेषगरी कोभिडका बिरामीहरुको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको हो ।

उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा आगलागी भएको थियो । त्यसमा परेर ४१ जनाको ज्यान गएको बताइएको छ भने अरु केही बिरामी घाइते भएका छन् ।

अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीका कारण र यसले उत्पन्न गर्नसक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

त्यस्तै इराकको संसदका सभामुखले सोमबार राति ट्वीट गर्दै इराकी संसदको बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएका थिए ।

यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्राय विरामीहरु नै परेका अनुमान गरिएको छ । यस विषयमा अस्पतालले केही बताएको छैन् । अस्पतालले सो अस्पताल भवनमा कोभिड १९ का संक्रमितहरुको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र बिरामीको उपचार गर्ने गरिएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू