बुधबार, माघ २, २०८१
10:10 | १५:५५

एनआरएनए यूके निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता जुलाई १५-१६ मा

नेपाली लिङ्क जुलाइ १०, २०२१

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिले शनिबार बेलुका एनआरएनए यूकेको वेबसाइटमार्फत् ‘गैरआवासीय नेपाली संघ यूके निर्वाचन समिति २०२१ नियमावली तथा सूचना’ प्रकाशन गरेको छ ।

निर्वाचन समितिका संयोजक महेन्द्र कंडेल र सदस्यसचिव कर्णबहादुर शाहीले राष्ट्रिय समन्वय परिषद बेलायतसंगै यहाँका चार वटै राज्य समन्वय परिषदको निर्वाचनका लागि तालिका प्रकाशन गरेका हुन् ।

यस्तो छ निर्वाचन तालिका

प्रकाशित तालिकाअनुसार जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन तथा १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दावीविरोधको समय तोकिएको छ भने १४ जुलाई साँझ ५ बजे एनआरएनए यूके वेबसाइटमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, उम्मेदवारी दर्ताका लागि जुलाई १५ देखि १६ तारिख साँझ ५ बजेसम्मको समय छुट्याइएको छ । जुलाई १८ आइतबार साँझ ५ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारमाथि दावीविरोध गर्न १९ जुलाई दिउँसो १ बजेसम्म समय दिइएको छ ।

जुलाई २०, साँझ ५ बजे उम्मेदारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान जुलाई ३१ शनिबार ०:०० देखि बेलुका २३:५९ सम्म अनलाइनमार्फत हुनेछ । परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ १ अगस्ट भर्चुअल माध्यमबाट गरिनेछ ।

तोकियो उम्मेदवारी शुल्क

निर्वाचन समितिले उम्मेदवारी मनोनयनका लागि आवश्यक शुल्क समेत निर्धारण गरेको छ ।

जसअनुसार राष्ट्रिय समन्वय परिषदको अध्यक्षका लागि १५ सय पाउण्ड तोकिएको छ भने दुई खुला, एक महिला र वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डको प्रतिनिधित्व गर्ने एकएक गरी कुल ६ उपाध्यक्ष र महासचिवका लागि ११ सय पाउण्ड निर्धारण गरिएको छ ।

त्यसैगरी, दुई खुला र एक महिला गरी तीन सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकका लागि ८ सय ५० पाउण्ड शुल्क छ भने १२ कार्यसमिति सदस्यका लागि ४ सय ५० पाउण्ड उम्मेदवारी शुल्क लाग्नेछ ।

त्यस्तै, ७ आइसिसी सदस्यहरुको लागि १५ सय पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन उमेदवारी दिनेहरुले ४० पाउण्ड शुल्क बुझाउनुपर्नेछ ।

राज्य समन्वय परिषदहरुको हकमा भने अध्यक्षलाई ४ सय ५० पाउण्ड, उपाध्यक्षलाई ३ सय पाउण्ड, सचिव र कोषाध्यक्षलाई २ सय पाउण्ड, सहसचिव र सहकोषाध्यक्षलाई १ सय ५० पाउण्ड तथा ४ सदस्यहरुलाई १ सय पाउण्ड शुल्क छ ।

निर्वाचन समितिको सूचना: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू