सोमबार, माघ ७, २०८१
19:36 | ०१:२१

हैटीमा अस्थिरताको खतरा भएको भन्दै सरकारले गुहारयो राष्ट्रसंघ

रासस/एएफपी जुलाइ १०, २०२१


पोर्ट–ओ–प्रिन्स, हैटी २६ असार– राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।

हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गोली हानी हत्या गरिएको थियो । मोइसलाई उनको घरमा गोली हानी हत्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।

निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भने, “हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ का लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।

संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाका लागि अनुरोध गर्दा तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको संकेत गरेको थियो ।

वासिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति संकेत गरिसकेको छ र व्हाइट हाउस प्रवक्ता जेन साकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताएकी छन् ।

क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिलाई हिरासतमा लिइएको छ वा कारबाहीमा मारियो भन्ने सार्वजनिक गरिएको छैन् । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमहरूले बाहिर ल्याएका थिए ।

अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसंख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद छैन् ।

राष्ट्रपतिको हत्यापछि सुनसान राजधानी तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ ।

अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न, खाना पकाउन ग्यास किन्न लामवद्ध हुन थालेका छन् ।

‘भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्’, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।

विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झडप भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभावित बनेका थिए ।

यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरीब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।

राजधानीका बासिन्दाले एएफपीलाई भने, ‘विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट विचलित भएका छौं । घटनाको पछाडि कसको हात छ हामी जान्न चाहन्छौँ ।’

प्रहरीले २८ जना कोलम्वियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको जनाएको छ । छानवीनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उनकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताएका छन् । उनले हत्यारा विदेशी नभएको दावी पनि गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू