आइतबार, माघ ६, २०८१
09:08 | १४:५३

नेपाल–भारत सिमाना क्रमशः नियमन हुने

रासस जुलाइ ८, २०२१

काठमाडौं । सरकारले नेपाल–भारत खुला सिमानालाई क्रमशः व्यवस्थित एवं नियमन गर्दै द्विदेशीय सीमाक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने बताएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले राजधानीमा आज आयोजना गरेको ‘कोभिड–१९ को सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती, सुरक्षा र नेपालको बाह्य सम्बन्ध’ विषय छलफलमा गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको परिचयसहितको अभिलेख राखिने बताए ।

सिमाना व्यवस्थापन सुरक्षाकर्मीहरूको उपस्थिति मात्र नभएर भन्सारको उचित प्रबन्ध, पशु तथा वनस्पति ‘क्वारेन्टिन’ अध्यागनलगायत विषय समेटिने भएकाले दुवै देशको सहमतिमा चरणबद्धरूपमा सिमाना व्यवस्थापन एवं नियमन गर्नुपर्ने विचार न्यौपानेले व्यक्त गरे ।

आगामी दुई वर्षभित्र द्विदेशीय सिमानामा सशस्त्र प्रहरी बलका ५०० ‘बोर्डर आउटपोष्ट’ स्थापना गर्ने सरकारी नीतिअनुसार काम भइरहेको जनाउँदै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी त्यो लक्ष्य हासिल गरिने उनले बताए ।

देशको भौगोलिक विकटता तथा प्रतिकूल मौसमी परिस्थितिको सामना गर्दै सिमानाको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको यथार्थ सुनाउँदै गृहसचिव न्यौपानेले सीमा क्षेत्रका बासिन्दाको जीविकोपार्जनलाई समेत दृष्टिगत गरी स्पष्ट कार्ययोजनाका साथ काम गर्नुपर्ने बताए ।

‘कोभिड–१९ को पहिलो लहरको महामारीका बेला सीमा क्षेत्रमा झेल्नुपरेका कठिनाइबाट हामीले पाठ सिक्दै दोस्रो लहरको अहिलेको महामारीमा स्वास्थ्य सेवा प्रवाह, आप्रवासी कामदारको सुरक्षा, परीक्षण र उपचारलाई राज्यस्रोतले भ्याएसम्म व्यवस्थित गरिरहेका छौँ’, गृह सचिवको धारणा थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू