एनआरएनए माल्टा अध्यक्षमा भुवन अर्यालले उम्मेद्वारी दिने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आगामी जुलाइमा हुन गइरहेको निर्वाचनमा भुवन अर्यालले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
विगत चारवर्षयता माल्टामा एनआरएनए लगायत विभिन्न संघसंस्थामा आवद्ध रहँदै आएका अर्याल पूर्व सचिव समेत हुन् । अर्यालले आफू टिमवर्कमा विश्वास राख्ने सामाजिक कार्यकर्ता भएकाले आफ्नो नेतृत्वमा रहेको टिमसंगको सरसल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता समेत एक विज्ञप्तिमार्फत व्यक्त गरेका छन् ।
‘जीवनका उर्जामय महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि माल्टामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको छु र भावी दिनमा पनि निरन्तरता दिने सोच छ’, अर्यालको विज्ञप्तिमा उल्लेख छ ।
‘पछिल्लो समय माल्टामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो संगसंगै धेरै समस्या पनि हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ । यसतर्फ म ध्यान केन्द्रित गर्नेछु’, उनले भने ।
‘आज मैले उम्मेदवारी घोषणा गर्दै गर्दा मसंग एजेण्डाका पोका छैनन् । तर, एनआरएनएका आफ्ना उद्धेश्य, कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाई र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छौं । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तकहरुको आवाज र यहाँ भएका समस्याहरु सम्वोधन गर्ने एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु’, उनले भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५