सोमबार, माघ ७, २०८१
23:05 | ०४:५०

युरोपेली देशहरुमा संक्रमितको संख्यामा फेरि बृद्धि

रासस/एएनआई जुलाइ १, २०२१

कोपेनहेगन, १७ असार–युरोपेली देशहरूमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो ।

डब्लुएचओले संक्रमितको संख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

“युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सवै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने ।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा बृद्धि भएको हो ।

उनले युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे ।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए ।

उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरेका छन् ।

उनले भने, “खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।”

युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्यांक पनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू