सोमबार, माघ ७, २०८१
23:10 | ०४:५५

चिनियाँ कम्युनिष्ट पार्टी सय वर्षमा, राष्ट्रपतिले विश्वलाई दिए यस्तो चेतावनी

रासस/सिन्ह्वा जुलाइ १, २०२१

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा आयोजित भब्य समारोह । तस्बिर- सिन्हवा

बेइजिङ्, १७ असार– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिबस मनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफूहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताए ।

सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफूहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी दिए । उनले भने, “जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।”

चीनको राष्ट्रपति समेत रहेका सीले आफूहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट बताए । उनले भने, “चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।”

उक्त अबसरमा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सीपीसीका महासचिव सी चिङफिङ, तस्बिर- सिन्हवा

उनले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने पनि बताए । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उनले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गर्दै सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले दुई हजार ५०० वर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताए ।

चिनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य संख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चिनियाँ नागरिक आवद्ध भएका छन् ।

यो तथ्याङ्क यही जुन ५ तारिखसम्मको भएको चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले बुधबार जानकारी दिएको छ । सन् २०१९को अन्त्यसम्मको सदस्य सङ्ख्याभन्दा अहिले ३.५ प्रतिशतले सदस्य सङ्ख्या बृद्धि भएको संगठन विभागको भनाइ छ ।

विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो । सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चिनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू