आइतबार, माघ ६, २०८१
12:25 | १८:१०

एमाले अन्तरविरोध साम्य हुने दिशातर्फ

रासस जुन ३०, २०२१

काठमाडौं । नेकपा (एमाले) को आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले महाधिवेशन आयोजक समिति भंग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेपछि पार्टीभित्रको अन्तरविरोध साम्य हुने ठानिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको हो । तर, असन्तुष्ट पक्षका माधवकुमार नेपालसहितका नेताहरु यही असार १८ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने अझै निश्चित भइसकेको छैन् ।

नेपालनिकट स्थायी कमिटीका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका छन् भने संस्थापन र नेपाल पक्षका दोस्रो तहका नेताहरु केन्द्रीय कमिटी बैठक डाकिएको सन्दर्भमा आपसी संवादलाई निरन्तता दिन थालेका छन् । एमालेले यसअघि गरिएको नेताहरुको कारबाही स्वतः निष्प्रभावी हुने पनि जनाइसकेको छ ।

एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रसँगको केन्द्रीय कमिटीमा पूर्व मओवादीबाट आएका नेताहरुलाई थप गरेको जनाए ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको स्थायी कमिटीमा नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र वेदुराम भुसाललाई थप गरिएको छ ।

उनले पार्टीका सबै कामलाई महाधिवेशनकेन्द्रित गर्न आयोजक कमिटी गठन गरिएकमा सर्वोच्च अदालतको एक फैसलाले आयोजक कमिटीको क्षेत्राधिकारमाथि प्रश्न उठाएकाले केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको बताए ।

बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण आदि विषयमा सरकारले गरेका राम्रा कामका कारण सरकार र एमाले जनतामा लोकप्रिय हुँदै गएको बताएका थिए । उनले नेपालप्रति विश्वको ध्यानाकर्षण भएका स्थितिमा सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट चलखेल भएको तर देशलाई स्थिरता दिनेतर्फ सुदृढ कदम चाल्न आफूहरु प्रतिबद्ध भएको जनाए ।

पार्टीभित्र केही व्यक्तिहरु जालझेल र तिकडम गरेर विपक्षीको साँठगाँठमा लागेको उनको आरोप थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू